गोरखा हाई स्कुलले मनायाे २५औँ रजत जयन्ती

711


काठमाडौं — गोरखा हाई स्कुल को २५औँ रजत जयन्ती समारोह भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित विशेष कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक गाेपाल श्रेष्ठले गरेका थिए। उहाँले विद्यालयले गुणस्तरीय शिक्षा, नैतिक मूल्य र व्यवहारिक सीप विकासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र प्रविधिमैत्री पठनपाठन प्रणाली लागू गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा बोल्दै विभिन्न अभिभावकहरूले विद्यालयले आफ्ना सन्तानको शैक्षिक तथा व्यक्तिगत विकासमा खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूले विद्यालयको अनुशासित वातावरण, योग्य शिक्षक टोली तथा निरन्तर सुधारतर्फको प्रतिबद्धताको सराहना गर्दै भविष्यमा पनि गोरखा हाई स्कुलले उत्कृष्ट नतिजासहित गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे। अभिभावकहरूले विद्यालय व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा थप प्रगति र सफलताको कामना गरे।
रजत जयन्ती समारोहका अवसरमा विद्यालयमा लामो समयदेखि समर्पित भई सेवा पुर्‍याउँदै आएका उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको थियो। सम्मानित शिक्षकहरूलाई प्रशंसापत्र र दोसल्ला ओढाएर कदर गरिएको थियो। त्यसैगरी, शैक्षिक वर्षभर उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्रालाई पुरस्कार वितरण गरिएको थियो। विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिनुका साथै उनीहरूको मेहनत र लगनशीलताको खुलेर प्रशंसा गरिएको थियो।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरूले थप रौनकता थपेका थिए। विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए। विद्यालयको २५ वर्षे यात्रालाई समेटिएको विशेष स्मारिका समेत सार्वजनिक गरिएको थियो, जसमा विद्यालयको स्थापना कालदेखि हालसम्मको प्रगति, उपलब्धि तथा भावी योजनाहरू समेटिएको बताइएको छ।
समारोहको समापन गर्दै अध्यक्ष श्रेष्ठले सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सबैको साथ र सहयोगकै कारण विद्यालयले २५ वर्षे सफल यात्रा पूरा गर्न सकेको उल्लेख गर्दै आगामी दिनमा अझ उच्च शैक्षिक गुणस्तर कायम राख्दै उदाहरणीय शैक्षिक संस्था बन्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।
उत्साह, सम्मान र प्रतिबद्धताबीच सम्पन्न भएको गोरखा हाई स्कुलको २५औँ रजत जयन्ती समारोहले विद्यालयको गौरवमय इतिहासलाई स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्।

तपाईको बिचार