काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै नागरिक एपमार्फतै अनलाइन बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ। बैंकका अनुसार यो सेवा नेपालमै पहिलो पटक नागरिक एपमार्फत बैंक खाता खोल्ने व्यवस्थाका रूपमा सञ्चालनमा आएको हो।
यस सेवाअन्तर्गत नागरिक एपमा आबद्ध १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्रधारी नेपाली नागरिकले व्यक्तिगत बचत खाता अनलाइनबाटै खोल्न सक्नेछन्। खाता खोल्न आवश्यक क्यूआर कोड नागरिक एपमा उपलब्ध लिंकमार्फत प्राप्त गरी बैंकको प्रणालीमा प्रवेश गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार खाता खोल्ने क्रममा ग्राहकको पूर्वसहमतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिनेछ। यसबाट विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षासमेत सुनिश्चित हुने विश्वास बैंकले लिएको छ।
यद्यपि, नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्न ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भएर वा भिडियो केवाईसी (KYC) मार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ।
नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने तथा ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने बैंकको विश्वास छ।
ग्लो
बल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। साथै, आधुनिक प्रविधि र ग्राहक सेवाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गर्दै आएको बैंकले जनाएको छ।
तपाईको बिचार