काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बल प्रयोगभन्दा संवाद, सहमति र राजनीतिक समझदारीमार्फत समाधान खोज्नुपर्ने बताएका छन्।
जारी सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने बताए। उनले भूकम्प, बाढी–पहिरो जस्ता विपद् र संविधान निर्माणजस्ता जटिल परिस्थितिमा मुलुकले राष्ट्रिय एकता र साझा सहमतिको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही राजनीतिक परिपक्वता आवश्यक रहेको उल्लेख गरे।
उनले राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै प्रश्न उठाए। सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै उनले सरकारले अझ जिम्मेवार, सक्रिय र संवेदनशील भूमिका निर्वाह गर्नुपर्ने बताए।
प्रचण्डले प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्नेमा जोड दिए। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो।
उनले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट गर्दै संवाद र राजनीतिक समझदारीमार्फत मात्रै परिस्थितिलाई सहज बनाउन सकिने बताए। आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिइएको पनि उनले जानकारी दिए।
घटनास्थलमा स्थानीय व्यक्तिसँगै बाह्य रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने सम्भावनातर्फ संकेत गर्दै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
प्रचण्डले अहिले राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे। साथै सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
तपाईको बिचार