काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको शनिबार ( १६ साउन, २०८३ ) सम्पन्न चौंथो अधिवेशन तथा १०औँ बार्षिक साधारणसभाबाट ईश्वर लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
अधिवेशनमा अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा ईश्वर लामाले ७७ मत प्राप्त गर्दै विजय हासिल गरे। अध्यक्षका अर्का प्रत्यासी प्रल्हाद तिमिल्सिनाले ४२ मत प्राप्त गरे।
त्यस्तै , विशिष्ट उपाध्यक्षमा कुमार श्रेष्ठ ७३ मतसहित निर्वाचित भए। वरिष्ठ उपाध्यक्ष पदमा विष्णुकुमार खड्काले ८३ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका प्रतिस्पर्धी लिलेश्वर प्रसाद प्रधानले ४५ र भरत सापकोटाले ३२ मत पाए।
प्रथम उपाध्यक्षमा केशव कासुला तथा द्वितीय उपाध्यक्षमा नितेश सरिया निर्विरोध निर्वाचित भएका छन्। सचिवमा रामप्रसाद तिमिल्सिना ६९ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी राजकुमार साहले ४६ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा यसु प्रधान ६५ मतसहित निर्वाचित हुँदा जनार्दन फुयाल ५१ मतमा सीमित भए। सहसचिवमा पुरुषोत्तम रेग्मी ७३ मतसहित विजयी भए भने सहकोषाध्यक्षमा निकेश घिमिरे ४३ मत प्राप्त गर्दै निर्वाचित भए। उक्त पदमा शंकर अधिकारीले ३५ मत प्राप्त गरेका थिए। यसैगरी प्रकाशराज खड्का पनि ७६ मतसहित निर्वाचित भएका छन्।
कार्यकारी सदस्यतर्फ महेन्द्र घिमिरे, नवराज लामिछाने, सुगत मानन्धर, शंकर न्यौपाने, विशाल बखती, सुरेश दुवाल श्रेष्ठ र संजयकुमार श्रीवास्तव निर्वाचित भएका छन्।
नवनिर्वाचित अधयक्ष लामाले बागमती प्रदेशका पेट्रोलियम व्यवसायीका हकहितको संरक्षण, व्यवसायिक एकता मजबुत बनाउने, इन्धन आपूर्ति व्यवस्थापनमा प्रभावकारी समन्वय गर्ने तथा व्यवसायसँग सम्बन्धित नीतिगत विषयमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।
तपाईको बिचार