विश्वविद्यालय उपकुलपति छनोट : आजदेखि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सुरु

581

काठमाडौं । देशका आठ विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सुरु गरिएको एकीकृत छनोट प्रक्रिअन्तर्गत पहिलो चरणमा तीन विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण शनिबारदेखि सुरु भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण पूर्वनिर्धारित कार्यतालिकाअनुसार समानान्तर रूपमा सञ्चालन गरिएको हो।

उच्च शिक्षामा गुणस्तरीय सुधार, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी र परिणाममुखी नेतृत्व चयन गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र वस्तुनिष्ठ बनाउन प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित क्षेत्रका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता रहेको छ। प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानलसमेत गठन गरिएको छ।

मन्त्रालयका अनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आइतबार र सोमबार सञ्चालन हुनेछ। यससँगै आठवटै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया निर्धारित समयभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।

सरकारले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको हो। गत वैशाख २४ गते आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको थियो भने जेठ १३ गते बसेको छनोट तथा सिफारिस समितिको बैठकले प्रारम्भिक परीक्षणपछि योग्य आवेदकहरूको आवेदन स्वीकृत गरेको थियो।

आवेदनको अध्ययन तथा मूल्याङ्कनपछि अल्पसूचीमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सुरु गरिएको हो। विज्ञहरूले दिएको अंकका आधारमा छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारको नाम छनोट गरी कुलपतिसमक्ष सिफारिस गर्नेछ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह ले शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेल को अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका छन्। समितिले विज्ञहरूको सहयोगमा मूल्याङ्कन गरी अन्तिम सिफारिस गर्ने मन्त्रालयले जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर