कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभाको समुद्घाटन सम्पन्न

850

कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन तथा स्थापना दिवस् आइतबार ( १७ साउन , २०८३ ) सम्पन्न भएको छ।

एशोसिएशनका अध्यक्ष रमेशकुमार बरालको सभापतित्व तथा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्तामा सम्पन्न भएको अधिवेशनको समुद्घाटन समारोहको संचालन महासचिव राजु घिमिरेले गरेका थिए। कार्यक्रममा होटेल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारी, होटेल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल , काठमाण्डौं होटेल व्यवसायी संघका अध्यक्ष ध्रुव बहादुर कार्की , जिल्ला होटेल व्यवसायी संघ, काठमाण्डौँका अध्यक्ष सुरेश बराल , प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंह, काठमाण्डौँ महानगरपालिका वडा नं – १४ का अध्यक्ष रामबाबु कोईराला लगायतको उपस्थिति रहेको थियो।

एशोसिएशनका लागि आगामी दुई वर्षको नयाँ कार्यसमिति समेत चयन हुने अधिवेशनमा होटेल व्यवसायीहरुले भोग्नुपरेका समस्याहरुको समाधानको लागि अतिथिहरुबाट अन्तरक्रियात्मक मन्त्यव्य व्यक्त गरिएको थियो। कार्यक्रममा एशोसिएशनमा योगदान दिने व्यवसायीहरु र एसईई परिक्षा उत्तिर्ण गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो।

समुद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले होटेल व्यवसायीहरु देशका पर्यटन व्यवसायको प्रमुख भुमिकामा रहेकाले व्यवसायीले भोग्नुपरेका समस्यामा प्रदेश सरकार संवेदनशील रहेको जानकारी दिए। हालै नेपालको मुस्ताङमा अवस्थित होटेल विश्वकै उत्कृष्ट घोषणा हुनु गौरवको कुरा भएको जनाउँदै सबै होटेल व्यवसायीहरुले त्यसलाई अनुकरण गर्न अनुरोध गरे। उनले बागमती प्रदेश सरकारले प्रदेश भरिका पर्यटकीय र धार्मिक क्षेत्रको प्रविधिमैत्री प्रचार प्रसार र कफीटेबल पुस्तक प्रकाशन गरेको जानकारी दिए।

सचिव सुवेदीले नेपाल प्रकृति, संस्कृति, साहसिक पर्यटन र विश्व सम्पदाको संगम भएकाले पर्यटनको लागि उत्कृष्ट गन्तव्य भएकाले हामीले सृजनात्मक कामबाट पर्यटक आगमन बढाउन सक्नुपर्ने बताए।

कार्यक्रममा होटेल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारीले यहाँका व्यवसायीमा क्षमता अभिवृद्धि र सेवा प्रवाहमा आवश्यक सचेतना र समन्वय गर्न होटेल व्यवसायी महासंघले सधैँ काम गर्ने बताए। उनले देशभरका व्यवसायीको व्यवसाय बलियाे बनाउन काम गर्नुपर्ने तथा सामाजिक सुरक्षा लगायतका काममा महासंघले सहकार्य गर्ने बताए। उनले सबै व्यवसायीहरूले महासंघको काममा एकतावद्ध भएर सहयाेग गर्न अनुरोध समेत गरे।

कार्यक्रममा जिल्ला होटेल व्यवसायी संघ, काठमाण्डौँका अध्यक्षसुरेश बरालले भारतीय धार्मिक पर्यटकहरु बढी भित्र्याउन पहल गर्न आव्हान गर्दै पर्यटकहरुले एयरपोर्टमा झेल्नुपर्ने समस्या समाधान गर्न सरकारलाई अनुरोध गरे। उनले होटेल व्यवसायीले गुणस्तरिय र सुरक्षित सेवा प्रदान गर्नमा ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष रमेशकुमार बरालले काठमाडौं महानगरपालिका भित्र कलंकी, बल्खु, स्वयम्भु र कोटेश्वर, चन्द्रागिरी र नागार्जुन आदि क्षेत्रमा स्थापना भएका ठूला मझौला तथा साना गरी यस संस्थामा हाल १०५ भन्दा माथिको हाराहारीमा सदस्य आवद्ध रहेको जानकारी दिए। उनले २५ लाखदेखि ३० करोडसम्मको होटलहरु यस संस्थामा आवद्ध भएका बताए।

तपाईको बिचार

सम्बन्धित खबर