काठमाडौँ, २८ भदौ । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संघका महासचिव डा. सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिनुभयो । एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।
गत भदौ २७ गते डा. थापा र डा. बिडारीमाथि सन्चो अस्पताल हेटौंडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भएको थियो ।
सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकहरू डा. थापा र डा. बिडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । बुधबार चिकित्सकहरुमाथि अस्पतालभित्रै आक्रमण भएको थियो ।
तपाईको बिचार