निजी क्षेत्रमाथिको ‘पोलिसी ब्रोकर’ प्रभाव हटाउँदैछौं, सरकारप्रति विश्वास गर्नुस् : सांसद ढकाल

669

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले निजी क्षेत्र, उद्यमी तथा व्यवसायीहरूलाई सरकारप्रति विश्वास गर्न आग्रह गर्दै मुलुक विगतको कुशासन र नीतिगत बिचौलियाको प्रभावबाट क्रमशः बाहिर निस्किरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित १८औँ कर्पोरेट बिजनेस समिट तथा अवार्ड २०८३ कार्यक्रममा बोल्दै उनले कठिन आर्थिक परिस्थितिका बीच पनि कर तिरेर राष्ट्र निर्माणमा योगदान गरिरहेका करदाता, उद्यमी, व्यवसायी तथा किसानप्रति सम्मान व्यक्त गरे।

आफू किशोर अवस्थादेखि नै उद्यम, व्यवसाय र पुँजी बजारसँग जोडिएको व्यक्ति भएको उल्लेख गर्दै ढकालले निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे आफू जानकार रहेको बताए। उनले विगतका सरकारहरूको आलोचनाभन्दा समाधान खोज्न आवश्यक रहेको उल्लेख गर्दै देश अहिले परिवर्तनको महत्वपूर्ण चरणमा रहेको धारणा व्यक्त गरे।

ढकालले पछिल्लो ३५ वर्षदेखि राज्य संयन्त्रमा मौलाएको कुशासन, दलीयकरण र नीतिगत बिचौलियाको प्रभावले निजी क्षेत्रलाई ठूलो क्षति पुगेको दाबी गरे। व्यवसायीहरूले कर तिर्नुका साथै विभिन्न तहमा अनावश्यक दबाब र झन्झट पनि व्यहोर्नुपरेको भन्दै त्यसको अन्त्य आवश्यक रहेको बताए।

कार्यक्रममा व्यवसायी कमलेश अग्रवालले प्रयोग गरेको ‘मनको बाघ’ प्रसंग उल्लेख गर्दै उनले भने, “मनको बाघ भ्रम हो, वनको बाघ सत्य हो। वनका बाघहरू ३५ वर्षसम्म सिंहदरबारमा बसे। तिनै कारण नीति निर्माणदेखि कार्यान्वयनसम्म विकृति बढ्यो र निजी क्षेत्रले दुःख पायो।”

उनले ‘पोलिसी ब्रोकर’ हरूको प्रभावका कारण नीतिहरू वास्तविक उद्यमी तथा लगानीकर्ताको हितमा बन्न नसकेको उल्लेख गरे। निजी क्षेत्रका सुझावहरू प्रत्यक्ष रूपमा नीति निर्माणमा नपुगी बिचौलियामार्फत विकृत हुने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

सरकार गठन भएको ८३ दिन मात्र भएको स्मरण गराउँदै ढकालले छोटो अवधिमै केही सकारात्मक संकेत देखिन थालेको दाबी गरे। अनावश्यक तथा अप्रासंगिक कानुन हटाउने, प्रशासनिक सुधार गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा सरकार अघि बढिरहेको उनले बताए।

सरकारले ल्याएको बजेट निजी क्षेत्रलाई विश्वासमा लिएर तयार गरिएको दाबी गर्दै उनले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताए। अर्थतन्त्रलाई चलायमान बनाउन कर प्रणालीलाई थप व्यवस्थित र व्यवसायमैत्री बनाउने प्रयास भइरहेको जानकारी पनि उनले दिए।

कर प्रणालीबारे धारणा राख्दै ढकालले राज्यले मौरीले फूलबाट मह संकलन गरेझैँ व्यवसायलाई क्षति नपुग्ने गरी कर उठाउनुपर्ने बताए। “व्यवसाय फस्टाएपछि मात्रै राज्यको राजस्व बढ्छ। व्यवसायीमाथि अनावश्यक बोझ थप्ने होइन, उत्पादन र लगानी बढ्ने वातावरण सिर्जना गर्नुपर्छ,” उनले भने।

निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य भइरहेको उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि संसद र सरकार दुवै तहबाट पहल भइरहेको बताए। लगानी, उद्योग, व्यापार तथा आर्थिक गतिविधि विस्तारका लागि आवश्यक कानुनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे।

तपाईको बिचार

सम्बन्धित खबर