नर्थ समिट हाइड्रोको १०औँ साधारणसभा सम्पन्न

517

काठमाडौं, जेठ १७ । नर्थ समिट हाइड्रो लिमिटेडको १०औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरण तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।

साधारणसभाले तलेजु पावर प्रालिद्वारा प्रवर्द्धित ४ मेगावाट क्षमताको मिडिल न्यादी जलविद्युत आयोजनाको बहुमत शेयर खरिद गरी न्यादी–फिदी जलविद्युत आयोजनाको क्यास्केड विकास गर्ने निर्णयलाई अनुमोदन गरेको छ। साथै सम्भावनायुक्त अन्य जलविद्युत आयोजनामा लगानी तथा साझेदारीका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार समेत प्रदान गरिएको छ।

हाल कम्पनीले २१.४ मेगावाट क्षमताको न्यादी–फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनास्थलमा हेडवर्क्स, मुख्य सुरुङ, भर्टिकल साफ्ट, पावरहाउस, पेनस्टक पाइप तथा पुल निर्माणलगायतका काम एकसाथ अगाडि बढिरहेका छन्। पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ भने सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यका लागि विभिन्न कम्पनीसँग सम्झौता सम्पन्न भइसकेको जनाइएको छ।

कम्पनीले आयोजनाका लागि आवश्यक उपकरण आपूर्ति तथा जडानका कार्यलाई पनि तीव्रता दिएको छ। साथै क्रेडिट रेटिङ प्रक्रिया पूरा गरी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीसमेत अगाडि बढाइएको जानकारी दिइएको छ।

२०७२ सालमा स्थापना भएको नर्थ समिट हाइड्रो लिमिटेडले स्वच्छ ऊर्जा उत्पादनमार्फत राष्ट्रिय विद्युत प्रणालीमा योगदान पुर्‍याउने लक्ष्यका साथ जलविद्युत आयोजना विकासलाई निरन्तरता दिँदै आएको छ।

तपाईको बिचार