काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

605

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। नगर सभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक विधेयक र विनियोजन विधेयकसँगै बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत तथा ७५ करोड रुपैयाँ बाह्य व्ययभारतर्फ खर्च हुने जनाइएको छ। महानगरले आन्तरिक आय, बैंक मौज्दात र विभिन्न अनुदानमार्फत बजेट स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ।

महानगरका अनुसार कुल बजेटमध्ये २० अर्ब १८ करोड ६३ लाख रुपैयाँ आन्तरिक स्रोतबाट, ४ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट तथा १ करोड रुपैयाँ जनसहभागिताबाट जुटाइने अनुमान गरिएको छ।

क्षेत्रगत रूपमा पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिँदै १५ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत विनियोजन गरिएको छ। सामाजिक विकासका लागि २ अर्ब ४२ करोड रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १३ करोड रुपैयाँ, आर्थिक विकास क्षेत्रमा ५४ करोड रुपैयाँ तथा प्रशासनिक एवं सञ्चालन खर्चका लागि ४ अर्ब ७१ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।

महानगरले वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड रुपैयाँ, शिक्षा क्षेत्रमा १ अर्ब ७१ करोड रुपैयाँ, सम्पदा संरक्षणमा २ अर्ब ५३ करोड रुपैयाँ, स्वास्थ्य सेवामा ७० करोड रुपैयाँ, सूचना प्रविधिमा ४१ करोड रुपैयाँ तथा विपद् व्यवस्थापनका लागि ३६ करोड रुपैयाँ विनियोजन गरेको छ।

बजेटमा फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य सेवा विस्तार, ‘एक वडा–एक उद्यम’ कार्यक्रम, रोजगारी सिर्जना तथा प्रदूषण नियन्त्रणलाई प्राथमिकताका साथ समेटिएको छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि समेत उल्लेख्य रकम छुट्याइएको छ।

युवालाई लक्षित स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै ‘कमाउँदै पढ्दै’, ‘नवयुवा सहकार्य’ तथा जेन्जी आन्दोलनका शहीद र अमर प्रहरीको स्मारक निर्माण कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ।

स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ महानगर अस्पताल निर्माणका लागि ४ करोड रुपैयाँ, सामूहिक आवास कार्यक्रमका लागि ५ करोड रुपैयाँ, ज्येष्ठ नागरिक निमोनिया खोप कार्यक्रमका लागि १ करोड रुपैयाँ तथा क्यान्सरसहित जटिल रोगको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, घरमै नागरिकता तथा राष्ट्रिय परिचयपत्र सेवा, निःशुल्क एम्बुलेन्स सेवा, करदाताका लागि निःशुल्क स्वास्थ्य सेवा, स्थानीय तहबाटै भूमि व्यवस्थापन सेवा उपलब्ध गराउने तथा स्वनिगः विश्वविद्यालय स्थापनाको प्रारम्भिक प्रक्रिया अघि बढाउने योजना पनि बजेटमा समेटिएको छ।

महानगरले रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन, वाटर एटीएम, सार्वजनिक शौचालय, पशु वधशाला निर्माण, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना तथा काठमाडौंलाई सांस्कृतिक सहर घोषणा गर्ने कार्यक्रमका लागि समेत बजेट प्रस्ताव गरेको छ।

राजस्व संकलनलाई प्रभावकारी बनाउन नयाँ करदाता पहिचान, करदाताको स्थलमै पुगेर सहजीकरण, कर छुट तथा जरिवाना मिनाहा कार्यक्रम ल्याइने भएको छ। असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने तथा बक्यौता कर चुक्ता गर्नेलाई जरिवाना मिनाहा गर्ने प्रस्ताव गरिएको छ।

यस्तै, आवासीय प्रयोजनका लागि बहालमा दिइएका घरजग्गाबाट वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने अवस्थामा लाग्ने बहाल कर १० प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गर्ने प्रस्ताव पनि बजेटमा समावेश गरिएको छ।

कार्यवाहक प्रमुख डंगोलले काठमाडौंलाई स्वच्छ, सफा, हरियाली, सुरक्षित, सांस्कृतिक तथा जीवन्त सहरका रूपमा विकास गर्ने लक्ष्यसहित सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

तपाईको बिचार

सम्बन्धित खबर