काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई राष्ट्रसेवामा पूर्ण समर्पित भएर कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार ढंगले काम गर्न निर्देशन दिएका छन्।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद हासिल गरेका क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न नवआयुक्त अधिकृतहरूलाई आग्रह गरे। साथै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनको सीमाभित्र रही सधैं आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले फरक–फरक सामाजिक पृष्ठभूमिबाट आएका जवानहरूको नेतृत्व गर्दै एकीकृत, सक्षम र जिम्मेवार टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास पनि व्यक्त गरे।
समारोहका क्रममा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्दै पुरस्कृत गरेका थिए। प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एक सय ८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।
तपाईको बिचार