काठमाडाैं। काठमाडौँ निम्न व्यापारी संघले २९औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै पुन: लक्ष्मीप्रसाद ओलीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ। संघीय सांसद तथा पूर्व सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आगामी कार्यकालको लागि ओलीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गरेको हो।
साधारणसभामा संघका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले सधैँभरी प्लास्टिकको छानामुनि व्यापार गर्न जोखिम रहेको बताए। ‘परिषद्लाई टिनको छाना लगाउन पहल गर्न पटक पटक अनुरोध गरेको तर अझै पनि छानामुनिको कष्ट व्यापारी, ग्राहकले भोगिरहेका छन्। विगतदेखिका यी समस्या समाधानमा समन्वयात्मक पहल आवश्यक रहेको छ,’ उनले भने।उनले भृकुटीमण्डप खुल्ला बजारको उचित व्यवस्थापनका लागि पहल गर्न पहल गरिदिन उपस्थित सांसदहरु समक्ष अनुराेध गरे।
साधारण सभाको समुद्घाटन सत्रका प्रमुख अतिथि पूर्व सूचना तथा संचारमन्त्री तथा संघीय सांसद मा. जगदीश खरेल जनताको दुई तिहाई बहुमत प्राप्त वर्तमान सरकारको प्रमुख उद्देश्य समुन्नत, न्यायपूर्ण र विकसित नेपाल निर्माण गर्नु रहेको हुनाले निम्न व्यवसायीप्रति अन्याय हुन नदिने बताए। उनले भृकुटीमण्डपस्थित खुला बजारमा व्यवसायीका हकहितका लागि सरकारको ध्यानाकर्षण गराउने वचनबद्धता जनाए।
त्यस्तै , सांसद यज्ञ मनी न्यौपानेले भृकुीमण्डप व्यवस्थापन गर्न, व्यावसायीलाई न्याय दिन ढिलो भइसकेको बताए। उनले आफू आँफू सत्तापक्ष कै भए पनि इमानको राजनिती गर्न प्रतिबद्ध भएकोले व्यावसायीको हितको लागी वकालत गर्ने प्रतिबद्धताजनाए । सांसद न्यौपानेले त्यहाँको व्यापार, व्यावसाय व्यवस्थित गर्न सरकारसमक्ष कुरा राख्ने बताउँदै पार्टीगत आधारमा नभई व्यावसायीको हितको लागी मिलेर नयाँ नेतृत्व चयन गर्न सुझाव दिए।
कार्यक्रममा भृकुटिमण्डपका व्यवसायीहरुले त्यहाँ अवस्थित १३०० बढी व्यवसायीहरुको दर्ता नविकरण हुनुपर्ने र कर प्रयोजनको लागि पसलको नामसारीको समेत प्रावधान हुनुपर्ने माग गरेका छन्। झण्डै तीन दशकदेखि भाडा र कर तिरेर व्यवसाय गर्दै आएको बताउँदै उनीहरूले अहिले उठेको भाडा नतिर्ने विषय निम्न व्यावसायीको नभई त्यहाँ रहेका अन्य संघसंस्थाहरुको रहेको बताए। त्यस्तै अहिलेको प्लास्टिक छानाको सट्टामा जस्तापाताको छाना राख्नुपर्ने व्यवसायीको माग रहेको छ।
काठमाडौँ निम्न व्यापारी सङ्घ समाज कल्याण परिषद्का नाममा रहेको भृकुटी मण्डपको जग्गामा व्यवसाय गर्ने व्यापारीहरुको संस्था हो। संघले विभिन्न समयमा रक्तदान , स्वास्थ्य शिविर तथा अन्य सामाजिक सेवाका कामहरू पनि गर्दै आएको छ।
तपाईको बिचार