अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल बक्सिङ संघद्वारा बक्सिङ प्रदर्शन खेल सम्पन्न

585

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल बक्सिङ संघको आयोजनामा बक्सिङ प्रदर्शन खेल कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजिब श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले ले गर्नुभएको थियो।

कार्यक्रममा तीनवटा प्रदर्शनात्मक बक्सिङ खेल आयोजना गरिएको थियो। प्रदर्शन खेलमा खेलाडीहरू चन्द्रबहादुर थापा, खगेन्द्र रोका, भारत चन्द, दानबहादुर दर्लामी तथा महिला खेलाडीहरू सरस्वती राना र कुसुम तामाङ ले आफ्नो उत्कृष्ट कौशल प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल बक्सिङ संघका महासचिव मान भण्डारी, सचिव पुष्करराज पन्त, प्रमुख प्रशिक्षक प्रकाश थापामगर लगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन संघका कोषाध्यक्ष गौतम सुजखु ले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अवालेले नेपाल बक्सिङ संघले विगतदेखि नै ओलम्पिक दिवसको अवसरमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको र आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताउनुभयो।

प्रमुख अतिथि श्रेष्ठले आगामी एसियाली खेलकुदको तयारीलाई प्रभावकारी बनाउन खेलाडी, प्रशिक्षक तथा संघलाई आग्रह गर्दै नेपाल ओलम्पिक कमिटीले आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी महासचिव भण्डारीले नेपालको ओलम्पिक यात्राको सुरुआत बक्सिङ खेलमार्फत भएको स्मरण गराउँदै प्रत्येक खेलाडीको अन्तिम लक्ष्य ओलम्पिकमा सहभागिता र उत्कृष्ट प्रदर्शन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले बक्सिङ खेलको विकास, खेलाडीहरूको उत्साहवर्द्धन तथा ओलम्पिक आन्दोलनप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर