रास्वपामा जानु 'चामल छोडेर कनिका रोज्नु' जस्तै हो: नेता ढुङ्गेल

रास्वपामा जानु ‘चामल छोडेर कनिका रोज्नु’ जस्तै हो: नेता ढुङ्गेल

809

भक्तपुर, ३० असार । नेकपा एमालेको केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु एमालेको लागि स्कुल, विश्वविद्यालयको साथ साथै एमालेको लालपुर्जा भएको बताउनुभएको छ ।

नेकपा एमाले सूर्यविनायक ७ वडा कमिटीको दोस्रो अधिवेशनको खुल्ला सत्रलाई सम्बोकन गर्दै नेता ढुंगेलले एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत देश तथा जनताको नेता रहेको उल्लेख गनुभयो । नेता ढुङ्गेलले बस्नेतको गृहस्थानको रुपमा रहेको गुण्डुलाई अन्य कुनै पनि राजनीतिक पार्टीले आँखा लगाउन नपाउने चेतावनी दिनुभयो । महेश बस्नेतकै कारण भक्तपुर देशभरमात्र नभएर विश्वका जुनसुकै देशहरुमा परिचित भएको उल्लेख गर्दै उहाँले २०७९ सालको निर्वाचनमा सून र पित्तल छुट्याउन नसकेको भन्दै गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुर देशभरका जनताको रोजाईको सहर बनेको छ । महेश बस्नेतले २०५४ सालदेखी हालसम्म गर्नुभएको विकासको नेतृत्वले स्वर्णिम युगको रुपमा स्थापित भएको छ । ०७९ सालको निर्वाचनमा महेश बस्नेत विकास नगरेर हार्नुभएको हैन । कोदो, मकै, गहुँ, फापरलगायतका सवै एकै ठाउँ मिसिएको राजनीतिक गठबन्धनले गर्दा हार्नुभएको हो । यो हार भक्तपुरवासीको लागि मात्र नभई देशकै लागि ठूलो क्षती हो, विकास र समृद्धिको यात्रामा ठेस लाग्नु हो । त्यसैले एमालेको स्कुल, विश्वविद्यालय तथा लालपुर्जा नै हो गुण्डु । यहाँ कुनै पनि पार्टीले आँखा लगाउन पाउँदैन । आगामी निर्वाचनमा ०७९ को पराजयको सावाँ व्याजसहितको मत लिएर विजय हासिल गर्नेछौं ।’

विकास र समृद्धिले गर्दा भक्तपुरवासी जनताको जीवनस्तर उच्च तहमा पुगेको उल्लेख गर्दै नेता ढुङ्गेलले आगामी निर्वाचनमा एमालेविरुद्ध सम्पूर्ण दलहरु मिले पनि एमालेको विजयलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा जानु भनेको चामल छोडेर कनिका रोज्नु जस्तै भएको टिप्पणी गर्नुभयो । त्यस्तै भक्तपुरको लागि एमाले रातमा पूर्णिमाको जस्तै उज्यालो भएको उल्लेख गर्दै उहाँले नेमकिपा औंसीको रात जस्तै भएको दावी गर्नुभयो ।

एमाले जिल्ला अध्यक्ष बचन देउजाले आगामी ०८४ को निर्वाचनमा एमालेको लागि जीत बाहेक अन्य हुनै नसक्ने बताउनुभयो । विगतको विरासतलाई कायम गर्दै ८४ मा तीन वटै तहमा एमालेको जीत शुनिश्चित हुने गरी योजनावद्ध रुपा अगाडी बढिएको जानकारी गराउनुभयो । २०६९ देखी २०७९ सालसम्म भक्तपुरको विकासको लागि स्वर्णिम युग भएको उल्लेख गर्दै उहाँले ८४ मा जिल्लामा एमालेका जनप्रतिनिधिहरुले सावाँ व्याज सहित जिताउने गरी लाग्न निर्देशन दिनुभयो । भ्रष्टाचारको नाईकेहरुले वर्तमान सरकार चलाईरहेको उल्लेख गर्दै उहाँले एमालेलाई भ्रष्टाचारको आरोप लगाई सरकार विकासबाट भागेको आरोप लगाउनुभयो ।

जिल्ला सदस्य तथा सूर्यविनायक नगरपालिकाको उपप्रमुख सरिता भट्टराईले मुलुकको समृद्धिको भिजन बोकेको पार्टी एमालेमात्र भएको दावी गर्नुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओली, महेश बस्नेत जसता मुलुकको आशा र भरोषाको नेता सूर्यविनायक नगरपालिकाकै भएको उल्लेख गर्दै उहाँले सूर्यविनायक नगरपालिका देशकै नेतृत्व गर्ने योग्य स्थान भएको बताउनुभयो । जनताको सेवा र विकासमा एमाले मैदानमा रहेको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । महेश बस्नेतको गृहस्थान गुण्डु विकास निर्माणमा देशकै मोडल भएको उल्लेख गर्दै उहाँले एमालेका कार्यकर्ता अन्य पार्टीमा गए क्षमा दिन नसकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगर अध्यक्ष रविन्द्र सापकोटा, सदस्य दिनेश थापा, उमेश बस्नेतले गुण्डु एमालेको उर्वर भूमि भएको उल्लेख गर्दै जनजनमा एमाले भएको दावी गर्नुभयो । एमालेको नेतृत्वमा भक्तपुरमा विकास र समृद्धिले कायपयट ल्याउन सफल भएको दृष्टान्त उल्लेख गर्दै उहाँहरुले एमाले जनताको नजरमा सुनको टुक्रा र अन्य पार्टी कवाडी फलामको टुक्रा जस्तै भएको बताउनुभयो । महेश बस्नेतको नेतृत्वकालमा भएका विकासका कार्य तथा बजेटहरुको स्मरण गर्दै उहाँले वर्तमान सांसद दुर्लभ थापा कहाँ छन् भनि जनताले टर्च लाईट लगाएर खोजिरहेको बताउनुभयो । वर्तमान सांसद जनताको नजरबाट हराएको तर निवर्तमान सांसदको जनताले खोजि गरिरहनु नै गुण्डुमा अन्य पार्टीहरु नभएको स्पष्ट रहेको उहाँहरुले दावी गर्नुभयो । अलि अलि बाँकी रहेका अन्य पार्टीका आस्थावानलाई पनि आगामी दिनमा एमालेमा आवद्ध गराई सँगै हातेमालो गरी अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा एमाले वडा नं. ७ को वडा कार्यालयको उद्घाटन समेत गरिएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर