भट्टराईको “अभिशप्‍त कुइनेटाहरू” कथासङ्ग्रह सार्वजनिक

भट्टराईको “अभिशप्‍त कुइनेटाहरू” कथासङ्ग्रह सार्वजनिक

611

काठमाडौं  कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरू” सार्वजनिक भएको छ ।नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथासंग्रह सार्वजनिक गरीएको हो ।

कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरे, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. महेशकुमार आचार्य, पवन आलोक, प्रा.डा.गोविन्दप्रसाद पौडेल, डा. दिनबन्धु शर्मा, कृतिकार जीवराज भट्टराई लगायतले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

कार्यक्रममा नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा कथाहरू उत्कृष्ट भएको अनुमान गर्न कठिन नहुने बताए  । त्यस्तै, रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिंदै साहित्यका क्षेत्रमा देखिएका विकृतिहरू चिर्नुपर्ने जनाए ।

समालोचक डा. शान्तिमाया गिरीले कथाकारले देखेभोगेका, बुझेका, मनले अनुभूति र समाजका जटिलताहरू कथाहरू कोरिएको भन्दै कुनै पनि विषयमा सुक्ष्म विश्लेषण गर्ने कथाकारमा खुबी भएको बताइन् ।  प्रा.डा. गोविन्दप्रसाद पौडेलले कथासङ्ग्रहमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति प्रकाशनको अवसर दिएकोमा भट्टराईलाई धन्यवाद दिंदै नयाँ कृतिको लागि बधाई ज्ञापन गर्दै साहित्यिक क्षेत्रमा देखिएका विकृति-विसंगति विरुद्ध सबै लाग्नुपर्ने खाँचो औंल्याए । “नेपाली साहित्यक्षेत्रमा देखापरेका विकृति औँल्याउँदै चर्चा पाउने कृति ओझेलमा पर्ने गरेका सैयौँ उदाहरण मसँग छन् । एकातिर हल्ला गर्न जानेका किताब पुरस्कृत हुने प्रवृत्ति देखिएको छ । अर्कोतिर लेखक स्वयंले पाठक खोज्नुपर्ने बाध्यता छ, जसको अन्त्य अनिवार्य छ ।” उनले राज्यले स्रष्टाहरूको उचित सम्मान गर्न नसकेको प्रति समेत खरो टिप्पणी गरे ।

कार्यक्रममा प्रा.डा. महेशकुमार आचार्य तथा डा. दीनबन्धु शर्माले शुभकामना मन्तव्य राखेका थिए ।  स्वागत मन्तव्य समाजका सचिव प्रकाश घायलले र सञ्चालन उपाध्यक्ष डा. सदानन्द कँडेलले गरेका थिए ।

तपाईको बिचार