पूर्व राज्यमन्त्री तथा उद्योगपति हरिप्रसाद पाण्डेद्वारा लिखित पुस्तक ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँ: समृद्धि प्राप्त नगरी मर्ने छैनौं’ काठमाडौँमा सार्वजनिक भएको छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रतिनिधिसभा सदस्य लिमा अधिकारी आचार्य, पूर्व सांसद चन्द्र भण्डारी, राष्ट्रीय योजना आयोगकका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्री र लेखकले पुस्तकको विमोचन गरेका थिए।
स्वदेशी वस्तु र सम्भावनाको प्रयोग गरौँ। सकेसम्म कम खर्चमा जीवनशैली अपनाऔँ। सकेसम्म बढी प्रतिफल प्राप्त हुने कार्यमा संलग्न होऔँ। यी नियमहरूले देशलाई आत्मनिर्भर र समृद्ध बनाउन सक्ने पूर्व मन्त्री पाण्डेको दाबी छ।
साथै, कसरी समृद्धिको यात्रा गर्न सकिन्छ भन्नेबारेमा आफ्नो अवधारण प्रस्तुत गरेका छन् । समृद्धिको पहिलो आधारका रुपमा उनले जनता, जमिन र जलश्रोतको उपयोग, दोश्रो आधारमा प्राणी, प्रकाश र प्रविधि, तेश्रो आधारमा व्यवसायको प्रयोग, व्यवसायको विविधिकरण र व्यवसायको बिस्तार तथा चौथो आधारका रुपमा पूर्वाधारको ब्यबस्था भनेर उल्लेख गरेका छन्। उनले आर्थिक सम्पन्नताका लागि समूहगत व्यवसाय, उद्योगहरुको वर्गिकरण, व्यवसायहरुको थप वर्गिकरण, कृषि समूह, जडिवुटीजन्य समूहमा जोड दिनुपर्ने पुस्तकमा उल्लेख गरेका छन्।
पाण्डेले पुस्तकमा समृद्धिका लागि आत्मनिर्भर बन्न जोड दिनुपर्ने भनेका छन् । जसका लागि उनले सकेसम्म स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने, सकेसम्म कम खर्चमा जीवनयापन गर्नुपर्ने, सकेसम्म बढी प्रतिफल प्राप्त हुने काम गर्नुपर्ने, सबै नीजि क्षेत्रका व्यवसायमा श्रम बजार खुल्ला गर्नुपर्नेलगायतका अवधारणा ल्याएका छन्।
पुस्तकमार्फत उनले मानव हुनुको अर्थ पूरा गर्न सामाजिक उत्तरदायित्वसमेत वहन गर्नुपर्ने उल्लेख गरेका छन् । जसका लागि आफू जन्मेको, आफ्ना माता–पिता जन्मेको, हजुरबुबा–हजुरआमा जन्मेकोलगायतका ठाउँमा आफ्नो गच्छे अनुसार सामाजिक सेवा गरेर ऋणको भारी बिसाउनुपर्नेमा जोड दिएका छन्। यसले सबैको कल्याण हुने उनको धारणा छ।
पाण्डेले ३ करोड ७९ लाखको अक्षयकोष खडा गरेर छात्रवृत्ति घोषणा गरेका पनि छन्। ७९ लाखको छुट्टै छात्रवृत्ति घोषणा गरे। पाण्डेले आफू जन्मेको पाल्पा जिल्लाका ८१ जनालाई ४० लाखको र आफ्नो कर्म क्षेत्र रहेको कास्की जिल्लाका लागि ३९ लाखको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन्। गरीब, जेहेन्दार, असहायःलगायतलाई छात्रवृत्ति प्रदान गर्ने पाण्डेले घोषणा गरे। तर छात्रवृत्ति प्राप्त गर्ने छात्र-छात्रा पूर्ण रुपमा प्रतिष्पर्धाबाट छनौट गरिने उनले स्पष्ट पारे ।
पाण्डेद्वारा लिखित पुस्तकको प्रकाशक मातृ सेवा प्रतिष्ठान रहेको छ भने जनता प्रशारण तथा प्रकाशन प्रालिले वितरक रहेको छ। ६ अध्यायमा विभाजित यस पुस्तक ६२४ पृष्ठ छन्।
तपाईको बिचार