दोलखा । GPK Foundation America का अध्यक्ष सोमनाथ घिमिरेले दोलखाका अनाथ तथा विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्।
जि.पी. कोइराला फाउन्डेसन दोलखाको समन्वयमा चरिकोटस्थित ‘आमाको न्यानो माया छात्रावास’मा आयोजित कार्यक्रममा ४० जना बालबालिकालाई कापी, कलमलगायत शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामाको प्रमुख आतिथ्यता तथा GPK Foundation America का अध्यक्ष सोमनाथ घिमिरेको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रम जि.पी. कोइराला फाउन्डेसन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।
यसै अवसरमा जि.पी. कोइराला फाउन्डेसन दोलखाले सञ्चालन गरेको कक्षा १२ अर्थात् प्लस टुको परीक्षा तयारीका लागि निःशुल्क कोचिङ कक्षामा अध्यापन गराउँदै आएका शिक्षकहरू नीरज आचार्य र जय श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। कोचिङ कक्षा व्यवस्थापनमा सहयोग गर्दै आएका राजन बस्नेतलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा GPK Foundation America का अध्यक्ष घिमिरेलाई पनि सम्मान गर्दै दोसल्ला ओढाइनुका साथै मायाको चिनो प्रदान गरिएको थियो।
फाउन्डेसनले शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको जनाएको छ।
तपाईको बिचार