ओरियण्टल होटल्स लिमिटेडको २९औं वार्षिक साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित

559

ललितपुर। ओरियण्टल होटल्स लिमिटेडले २९औं वार्षिक साधारण सभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। ओरियण्टल होटल्स लिमिटेडले काठमाण्डौँको लाजिम्पाटमा पाँचतारे ऱ्याडिसन हाेटल संचालन गर्दै आएको छ।

कम्पनीका अध्यक्ष श्रीमती सुभद्रा श्रेष्ठको अध्यक्षतामा शुक्रबार ( २९ असाेज , २०८३ ) प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदनसहितको २०८३ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित टिप्पणीहरू पारित गरेको हो।

कम्पनीको वित्तीय प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा होटलको कुल आम्दानी रु. १ अर्ब २ करोड रहेको छ। उक्त आम्दानीमध्ये कोठा बिक्रीबाट रु. २८.५६ करोड, खाद्य तथा पेय पदार्थबाट रु. ३५.६९ करोड, एक्जुकेटिभ लाउन्जबाट रु. ३०.४३ करोड र अन्य विक्रीबाट रु. ८.१४ करोड आम्दानी भएको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा होटलको कुल सञ्चालन खर्च रु. ९३ करोड ३२ लाख रहेको छ। यस अवधिमा होटलले रु. ९ करोड ५० लाख सञ्चालन नाफा गरेको भए तापनि सम्पूर्ण खर्च कट्टा गर्दा रु. ३ करोड ९२ लाख खुद नोक्सानी व्यहोर्नु परेको छ। जबकि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा होटलले रु. ४ करोड ३७ लाख खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा होटल नोक्सानीमा जानुको प्रमुख कारण होटलको पुरानो भवनको पुनर्निर्माण कार्य सन् २०२५ फेब्रुअरीदेखि सुरु भई उक्त भवनका सम्पूर्ण सेवा बन्द हुनु रहेको जनाएको छ । यसका साथै, समीक्षा अवधिमा देश तथा विदेशको राजनीतिक परिस्थितिको प्रभाव, पर्यटक आगमनमा वृद्धि भए तापनि काठमाडौं केन्द्रित नयाँ होटलहरू सञ्चालनमा आउनु र पर्यटकको संख्याको तुलनामा होटलका कोठाहरूको आपूर्ति बढी हुनु पनि नोक्सानीका प्रमुख कारण रहेका छन्।

साधारणसभामा हाेटलको पुनर्निर्माण गरिएको भवनको काम सन् २०२६ सेप्टेम्बर महिनामा सम्पन्न भई होटलका सम्पूर्ण सेवा पुनः सञ्चालनमा आएका जानकारी दिइयो। पुनर्निर्माण कार्य सम्पन्न भए पश्चात आगामी वर्षमा राम्रो नतिजा प्राप्त गर्ने कम्पनीको विश्वास रहेकाे छ। यसैबीच, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा सन् २०२६ जुन ३० मा आयोजित कार्यक्रममा सेवा समूहअन्तर्गत National Best Presented Annual Report Award 2025 बाट होटल सम्मानित भएको छ । त्यसैगरी, दक्षिण एसियाली लेखापाल महासंघ (SAFA-South Asian Federation of Accountants) बाट समेत होटलले Best Presented Annual Report Award 2025 प्राप्त गरेको छ । यी सम्मानहरूले होटलको वित्तीय प्रतिवेदनको प्रस्तुति तथा पारदर्शिताप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेका कम्पनीको दाबी रहेको छ।

ओरियन्टल होटल्सले यस वर्ष खुद नोक्सानीको कारण सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छैन। कम्पनीले आर्थिक वर्ष २०८०/८१ यता कुनै लाभांश वितरण गरेको छैन। आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीले ५.२६ प्रतिशत प्रतिफल वितरण गरेको थियो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार असोज १२ गतेसम्म कायम रहेका सेयरधनीको साधारण सभामा सहभागीता रहेको थियो।

तपाईको बिचार

सम्बन्धित खबर