काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता, मुख्य काम र अपेक्षित उपलब्धिलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो। सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित प्राथमिक काम तथा उपलब्धिलाई समेटिएको छ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले पनि प्रधानमन्त्रीसँग सम्झौता गर्नुभएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्वस्थताका कारण तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव संसद् बैठकमा सहभागी हुनुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुन सक्नुभएन।
यसैबीच, प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि बुधबार कार्यसम्पादन सम्झौता गर्नुभएको छ। सरकारले चालु आर्थिक वर्षका निर्धारित लक्ष्य र प्राथमिकतालाई समयमै कार्यान्वयन गरी परिणाममुखी शासन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यसम्पादन सम्झौतालाई अघि बढाएको हो।
तपाईको बिचार