गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधान गर्न गृहमन्त्री गुरुङको पहल

545

काठमाडौं । गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाका समस्या समाधानका लागि गृहमन्त्री सुधन गुरुङले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेका छन् । गोरखा–१ का जलविद्युत् व्यवसायीहरूको टोलीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका गृहमन्त्री गुरुङले आयोजनाको निर्माण तथा सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् ।

छलफलमा जलविद्युत् व्यवसायीहरूले उत्पादनको तयारीमा रहेका आयोजनाका लागि आवश्यक प्रसारण लाइन विस्तार, निर्माणका क्रममा देखिएका अवरोध तथा विभिन्न व्यवस्थापकीय समस्याबारे जानकारी गराएका थिए । गृहमन्त्री गुरुङले गोरखाका नदीमा निर्माण भइरहेका जलविद्युत् आयोजनालाई सहजीकरण गर्न ऊर्जामन्त्री श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन् । आयोजनाका समस्या समाधान गर्न सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने उनले बताए ।

गुरुङले जलविद्युत् व्यवसायीलाई आयोजनासँग सम्बन्धित संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० का काम पारदर्शी बनाउनसमेत आग्रह गरे । जलविद्युत् आयोजनामा राजनीति नगरी व्यावसायिक रूपमा काम गर्न र आयोजनाबाट स्थानीय जनताले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

‘सरकारबाट पूर्ण सहजीकरण हुन्छ । प्राधिकरणले पनि देखिएका बाधा फुकाउनुपर्छ,’ गृहमन्त्री गुरुङले भने, ‘व्यवसायीले पनि राजनीति नगरी आफ्नो व्यवसायमा केन्द्रित भएर काम गर्नुपर्छ ।’ छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले समस्या सम्बोधनका लागि नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक पहल गर्न निर्देशनसमेत दिए ।

प्राधिकरणका कामु निर्देशक दीर्घायु श्रेष्ठले जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए । प्रसारण लाइनसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक स्रोत जुटाउने विषयमा गृहकार्य भइरहेको उनले बताए । गोरखामा बूढीगण्डकीसहित १० भन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् । निर्माणका क्रममा देखिएका समस्या, प्रसारण लाइनको अभाव तथा अन्य व्यवस्थापकीय विषय लिएर गृहमन्त्री गुरुङ व्यवसायीको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका हुन् ।

तपाईको बिचार