काठमाडौं । सरकारी कार्यालयमा अनुशासन कायम गर्न तथा जनगुनासो सुनुवाइलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फछ्र्यौट भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो ।
अघिल्लो वर्ष २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४.१० प्रतिशत उजुरी फछ्र्यौट भएका थिए ।
सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रले सरकारी कार्यालयको अनुगमनसमेत बढाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३१८ कार्यालयको अनुगमन गरिएकोमा यस वर्ष अनुगमन गरिएका कार्यालयको संख्या झन्डै तीन गुणाले बढेर ९२४ पुगेको छ ।
अनुगमनका क्रममा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाक नलगाउने ६४५ जना र आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार चार जना कर्मचारी अनुशासन उल्लंघनमा परेको केन्द्रले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आचारसंहिता तथा समय पालना नगर्ने दुई हजार २१३ जना र तोकिएको पोशाक नलगाउने ५६२ जना गरी दुई हजार ७७५ जना कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको थियो ।
केन्द्रले अनुशासन उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ । सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन अनुगमन तथा गुनासो सुनुवाइलाई थप प्रभावकारी बनाउने केन्द्रको भनाइ छ । सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीको आचारसंहिता उल्लंघन वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना भए राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा सम्पर्क गरी जानकारी गराउन सकिनेछ ।
तपाईको बिचार