स्वीट साइन्स फाइट नाइट सम्पन्न, युवा बक्सरको उत्कृष्ट प्रदर्शन

831

काठमाडौं । युवा बक्सरको प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘स्वीट साइन्स फाइट नाइट स् कम्पिटिसन स्पारिङ’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। स्वीट साइन्स बक्सिङ एन्ड फिटनेसमा आयोजित प्रतियोगितामा विभिन्न क्लबका खेलाडीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका थिए।

प्रतियोगितामा जुनियर, स्कुल ब्वाइज, युथ र इलाइट गरी विभिन्न तौल समूहका आठ स्पारिङ बाउट सम्पन्न भएका थिए। स्वीट साइन्स, ओजी बक्सिङ र ए–१३ बक्सिङका खेलाडीबीच भएको प्रतिस्पर्धाले दर्शकको राम्रो साथ पाएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बक्सिङ महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी रहेका थिए। कार्यक्रममा महासंघका महासचिव मानबहादुर भण्डारी, सचिव पुष्करराज पन्त तथा रेफ्री–जज सन्तोष आलेमगरको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मानबहादुर भण्डारीले मेहनती प्रशिक्षक (कोच) हरूको योगदानकै कारण नेपालले उत्कृष्ट मुक्केवाज उत्पादन गर्न सफल भएको बताए। उनले यस्ता समर्पित प्रशिक्षकहरूले नेपाली मुक्केवाजलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सबै प्रशिक्षकप्रति धन्यवाद व्यक्त गरे। उनले निजी क्लबहरूको सक्रियताले नेपाली बक्सिङको आधार बलियो बन्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

त्यसैगरी महासंघका सचिव पुष्करराज पन्तले बक्सिङ सुरक्षित खेल भएको उल्लेख गर्दै युवालाई लागूऔषध, दुर्व्यसन र कुलतबाट जोगाउन खेलकुद प्रभावकारी माध्यम भएको बताए। उनले बढीभन्दा बढी युवालाई बक्सिङमा आबद्ध हुन आग्रह गर्दै यसले अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली विकास गर्न सहयोग पुग्ने धारणा राखे।

आयोजक स्वीट साइन्स बक्सिङ एन्ड फिटनेसले प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए भने दर्शकको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप उत्साहपूर्ण बनेको थियो।

तपाईको बिचार

सम्बन्धित खबर