भक्तपुर, १८ असार । सूर्यविनायक नगरपालिकालाई सुन्दर, हराभरा र प्रदुषणमुक्त बनाउन एक घर दुई विरुवा र तारमुक्त सडक बनाउनुपर्नेमा नरपालिका, सरोकारवाला संस्था तथा स्थानीयवासीले जोड दिएका छन् ।
नेप्सेम्याक सेवा प्रालिको संयोजन तथा नगरपालिकाको वातावरण तथा विपद् समितिको सहयोगमा आज नगरपालिकामा आयोजित फोहोर मैलाको दिगो व्यवस्थापनका लागि सूर्यविनायक नगरपालिका र नेप्सेम्याकको सहकार्यतामा सरसफाई तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी एक दिवसीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उक्त कुरामा जोड दिइएको छ । ‘घरेलु फोहोरमैलाको स्र्रोतमै व्यवस्थापन गरौं, आफ्नो वस्ती सफा, स्वच्छ र हराभरा राखौं’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नगरपालिका, सरोकारवाला संस्था तथा स्थानीयवासीबीच छलफल गरिएको हो । छलफलमा नेप्सेम्याकले फोहोर व्यवस्थापनमा खेलेको भूमिका उत्कृष्ट रहेको उल्लेख गर्दै नेप्सेम्याकको अभियानलाई नगरपालिकावासी सम्पूर्ण स्थानीयवासीको सहयोग हुनुपर्नेमा जोड दिइयो ।
पछिल्लो समय नगरपालिकाले कुनै पनि नयाँ घर निर्माण सम्पन्नताको प्र्रमाणपत्र दिनुपूर्व आफ्नो घरमा विरुवा अनिवार्य रोपिएको हुनुपर्ने बताउँदै आएको छ । वातावरण प्रदुषण नियन्त्रण गर्न नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरी दिगो फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै आएको छ । नगरपालिकाले नीजि क्षेत्रसँगको सहकार्यमा फोहोर व्यवस्थापनको साथसाथै नगरपालिकालाई पर्यटकीय गन्तव्यको विकास गर्ने नीति लिएको वातावरण शाखाका प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो । फोहोरलाई मोहरको रुपमा रुपान्तरण गर्न सकिने उल्लेख गर्दै उहाँले नेप्सेम्याकले थालेको फोहोर वर्गिकरण नगरपालिकाका १० वटै वडामा पुग्नुपर्नेमा जोड दिनुभयो । कुहिने फोहोरलाई वर्गिकरण गरी मल बनाउने तालिमको उचित व्यवस्थापन गर्न आग्रह गर्दै उहाँले उक्त कार्यको लागि नगरपालिकाले नेप्सेम्याकलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेप्सेम्याक भक्तपुर शाखाका प्रवन्धक बाबुराम चौलागाईले नेप्सेम्याकले हिजो, आज र भोलीको अवस्था र आगामी रणनीतिको बारेमा प्रस्तुती प्रस्तुत गर्दै नगरपालिकाबाट दैनिक ५५ टन फोहोर संकलन हुने गरेको जानकारी गराउनुभयो । ५५ टनमा नेप्सेम्याकले ९ हजार ९९ सदस्यबाट ३५ टन फोहोर संकलन गरिरहेको उल्लेख गर्दै उहाँले फोहोर संकलन गर्ने कर्मचारीलाई समाजमा हेर्ने दृष्टिकोणमा नै समस्या रहेको गुनासो गर्नुभयो । फोहोर वर्गिकरण, जनचेतना, तालिम, गोष्ठि, सफाई, समुदाय परिचालन, वृक्षारोपणलगायतका असंख्य कार्यहरु नगरपालिकासँगको सहकार्यमा नेप्सेम्याकले गरिरहेको उल्लेख गर्दै उहाँले वडा नं. ४, ५ र ७ मा गरी करिव ३५ सय घरको फोहोर वर्गिकरण भइरहेको बताउनुभयो । विषदीरहित तरकारी, प्रदुषण न्युनिकरण, नमुना वस्ती निर्माण, एक घर, दुई विरुवा, तारमुक्त सडकलगायतका महत्वपूर्ण कार्यहरु अभियानकै रुपमा सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले फोहोर वर्गिकरण र प्रदुषण नियन्त्रणका चुनौति र समस्या समाधानका उपाहरु समेत प्रस्तुत गर्नुभयो ।
प्रस्तुती पश्चात स्थानीयवासी गुरुप्रसाद दाहालले फोहोर वर्गिकरणले आर्थिक उपार्जनको माध्यम बनेको बताउनुभयो । मल उत्पादन गर्न सहजै रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय पहिलेभन्दा फोहोर संकलन गर्न सहज हुँदै गएको बताउनुभयो । बाटोमा फालिएको प्लास्टिक सामाग्रीहरुलाई संकलन गर्ने डस्विन अवाश्यकता रहेको औंल्याउँदै स्थानीयवासी भगवती सिवाकोटीले कसैबाट मल लिनेभन्दा पनि आफै उत्पादन गरी कौसीखेती, करेसावारीलगायतमा प्रयोग गर्ने सोचको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रको लागि दुई घण्टा अभियानका संयोजक मधु ढुुंगेलले अभियानले पहिलो चरणमा फोहोर संकलन गर्ने उल्लेख गर्दै दोस्रो चरणमा वातावरण प्रदुषण नियन्त्रण, हरियाली, जलवायु परिवर्तनको रोकथाम, विकास समृद्धिको कार्यहरु गर्ने बताउनुभयो । घरमात्र नभई सडक र वातावरण प्रदुषण नियन्त्रण गर्न जनता आफै उत्तरदायी हुनुपर्नेमा जोड दिँदै उहाँले सफाईको पहिलो डस्विन नै आफ्नो खल्ती हुनुपर्नेमा जोड दिनुभयो । वडा नं. २ का वडा सदस्य जनार्दन खड्काले कुहिने फोहोर वर्गिकरण गरी आफै प्रयोग गर्नेलाई नेप्सेम्याकले सदस्य शुल्क घटाउनुपर्नेमा जोड दिनुभयो । वडा नं. ४ ले फोहोर वर्गिकरण पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको बताउँदै स्थानीयवासी मोहिनी घिमिरेले समाज रुपान्तरण गर्न प्रत्येक विद्यालयमा फोहोर वर्गिकरण र व्यवस्थापनको बारेमा विद्यार्थीहरुको माध्यमबाट जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा नं. ९ का वडाध्यक्ष तथा वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भगवान खत्रीले विद्यालयमा गएर फोहोर व्यवस्थापन, वर्गिकरण, प्रदुषण न्युनिकरणलगायतका कुराहरुमा शिक्षा दिनु नै समाजमा मुख्य जनचेतनाको माध्यम हुने बताउनुभयो । आफ्नो बालवालिकाले भनेको कुरा अभिभावकले समेत मान्ने उल्लेख गर्दै उहाँले कम्पोष्ट मल बनाउने तालिमलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीयवासी तथा जनप्रतिनिधिहरुको भावना तथा प्रश्नहरुलाई उत्तर दिँदै नेप्सेम्याकका सञ्चालक गोविन्द प्रसाद आचार्यले टोलवासीले बोलाएको जुनसुकै समयमा आफुहरु उपस्थित भएर मल बनाउने तालिम दिने प्रतिवद्धता जनाउनुभयो । घरबाट निस्कने फोहोर वर्गिकरण गरे सदस्यता शुल्कमा २५ प्रतिशत छुट दिने संस्थाको नीति रहेको जानकारी गराउँदै उहाँले टोल टोलका सदस्यहरुलाई वार्षिक पाँच केजी मल निशुल्क वितरण गर्ने गरेको समेत जानकारी दिनुभयो ।
तपाईको बिचार