दही-चिउरा प्रवर्द्धनमार्फत किसान र उद्योगीको मनोबल बढाउन जोड

555


काठमाडौं, असार ११। नेपाल डेरी एसोसिएसनको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ (रोपाइँ महोत्सव-२०८३) को अवसरमा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै “दही-चिउरा खाऔँ, धान दिवस मनाऔँ; स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढाऔँ” भन्ने मूल नारासहित आयोजित “दही-चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम-२०८३” काठमाडौंको थापागाउँस्थित गाउँघर चौतारी बजारमा सम्पन्न भएको छ।
हाईलाइफ एग्री एण्ड फुड इण्डष्ट्रिज लिमिटेडको सहकार्य तथा विभिन्न सरकारी, सहकारी, निजी क्षेत्र एवं अन्य सरोकारवाला निकायहरूको सहभागितामा आयोजित उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि श्रेष्ठले ज्येष्ठ सदस्य तथा नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठलाई दहीपान गराई गर्नुभएको थियो। नेपाली मौलिक खाद्य संस्कृति, कृषि उत्पादन तथा दुग्धजन्य पदार्थको उपभोग प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, सहकारीकर्मी, निजी क्षेत्रका उद्यमी-व्यवसायी, दुग्ध उत्पादक किसान, डेरी उद्योगका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले कृषि तथा दुग्ध क्षेत्रबीचको अन्तरसम्बन्ध, राष्ट्रिय अर्थतन्त्रमा कृषक र दुग्ध व्यवसायीहरूको योगदान तथा स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले वर्तमान समयमा दुग्ध क्षेत्रले भोगिरहेका चुनौतीहरू, विशेषगरी दूधको उत्पादन, बजारीकरण, बिक्री वितरण, भुक्तानी व्यवस्थापन तथा उपभोग अभिवृद्धिका विषयमा समेत धारणा व्यक्त गरेका थिए।
नेपाल डेरी एसोसिएसनले कार्यक्रममार्फत स्थानीय तथा मौलिक खाद्य संस्कृतिको संरक्षण, दही-चिउराको उपभोग प्रवर्द्धन, दुग्धजन्य पदार्थको माग वृद्धि तथा किसान र उद्योगीको मनोबल अभिवृद्धि गर्ने उद्देश्य राखिएको जनाएको छ।
यस अवसरमा आयोजक संस्थाले दुग्ध क्षेत्रको वर्तमान अवस्था, अवसर तथा चुनौती, उत्पादन वृद्धि, बजार व्यवस्थापन, जलवायुमैत्री कृषि प्रविधिको प्रयोग तथा दुग्धजन्य पदार्थको उपभोग विस्तार सम्बन्धी विषय समेटिएको प्रेस विज्ञप्ति समेत जारी गरेको थियो।

तपाईको बिचार

सम्बन्धित खबर