जाजरकोटका जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउँछु : डम्बर बहादुर सिंह

799

२२ माघ , जाजरकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जाजरकोटबाट उम्मेदवार रहेका डम्बर बहादुर सिंहले यहाँका जनताको आवाज संसदमार्फत राष्ट्रिय मुद्दा बनाउनको लागि आँफु उम्मेदवार रहेको बताएका छन् । दुई दशकदेखि जाजरकोटको राजनीतिमा देखाएको आफ्नो इमान्दारिता, नेकपा एमालेको पार्टी संगठनप्रतिको निष्ठा, निरन्तर संघर्ष र त्यागको राजनीति नै आफ्नो जितको आधार रहेको उनको दाबी छ।

यसपटक जाजरकोटमा कांग्रेसबाट खड्कबहादुर बुढा, एमालेबाट डम्बरबहादुर सिंह, नेकपाबाट शक्ति बहादुर बस्नेत , रास्वपाबाट राघव कार्की लगायत ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । २०७४ सालदेखि एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा अहिले १ लाख ७ हजार ९१ जना मतदाता संख्या छ।

यसअघि २०७४ र २०७९ को निर्वाचनमा विजेता रहेका नेकपाका शक्तिबहादुर बस्नेतको विरुद्धमा कांग्रेस र एमालेको रणनीति र अहिले देशभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको लहरले पनि जाजरकोटको चुनावी प्रतिस्पर्धा रोचक बनाउने संकेत दिएको छ। त्यस्तै , पार्टीभित्रैको असन्तुष्टि र विकास निर्माणमा कमजोर प्रदर्शनका कारण बस्नेतको आलोचना भइरहेको भने कतिपय नेताले पार्टीसमेत छाडेका छन्।

यहाँ २०७९ को निर्वाचनमा माओवादी तेस्रो स्थानमा खुम्चिएको र स्थानीय तहमा एमालेको वर्चस्व रहेको अवस्था छ। अघिल्लो चुनावमा माओवादी-कांग्रेसबिच गठबन्धन थियो । कांग्रेसको समर्थन पाएका माओवादीका बस्नेतले प्रत्यक्षतर्फ ३४ हजार १५१ मतसहित निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका निरज आचार्यले एक्लै २५ हजार १२० मत ल्याए ।

२०७९ को स्थानीय तहको निर्वाचनमा बस्नेतकै गृह पालिका भेरी नगरपालिका एमालेले जितेको छ । ७ स्थानीय तहमध्ये माओवादीले जितेको नलगाड नगरपालिका मात्रै हो । बाँकी ३/३ स्थानीय तह एमाले र कांग्रेसले जितेका छन् । २०७४ मा पनि प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ माओवादीबाट बस्नेतले जितेपनि समानुपातिकतर्फ कांग्रेस पहिलो दल बनेको थियो ।

एक दशक अध्यक्ष, संगठनको मेरुदण्ड

जाजरकोटमा डम्बर सिंह एक दशकभन्दा बढी समय नेकपा एमालेका जिल्ला अध्यक्ष रहे। यो अवधिमा पार्टी संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै कार्यकर्तामा आशा र भरोसा जगाउने काम उनले गरे। सत्ता हुँदा पनि र नहुँदा पनि जनतासँगै रहने नेता भनेर चिनिएका सिंह कहिल्यै विवादित राजनीतिमा फसेनन्।

संकटमा अग्रमोर्चामा

कोरोना महामारी होस् वा जाजरकोटमा गएको विनाशकारी भूकम्प— डम्बर सिंह सधैँ अग्रमोर्चामा देखिए। कोरोना कालमा औषधि, राहत र समन्वयमा सक्रिय भूमिका खेलेका उनी भूकम्पपछिको उद्धार, राहत वितरण र पुनर्निर्माणका विषयमा निरन्तर खबरदारी गर्ने नेतामध्ये अग्रपंक्तिमा रहे। “संकटमा नेता देखिनुपर्छ” भन्ने उनको मान्यता व्यवहारमै देखियो।

भौतिक विकास मात्रै होइन, जीवनस्तर परिवर्तनको एजेन्डा

प्रतिनिधि सभा सदस्यका रूपमा उम्मेदवारी दर्ता गराउँदै सिंहले स्पष्ट सन्देश दिएका छन्—
“अब जाजरकोटलाई सडक र भवन मात्र होइन, अवसर चाहिन्छ।”

उनका प्राथमिकता यस्ता छन्:

शिक्षा: गुणस्तरीय सरकारी विद्यालय, शिक्षक व्यवस्थापन र प्राविधिक शिक्षा

स्वास्थ्य: पहुँचयोग्य स्वास्थ्य सेवा, विशेषज्ञ सेवा र औषधिको सुनिश्चितता

रोजगारी: स्थानीय उत्पादन, सीप विकास र युवालाई आफ्नै ठाउँमा काम

पर्यटन: जाजरकोटको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई रोजगारीसँग जोड्ने योजना।

अहिले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा देशभरका शहर तथा गाउँघरमा सबै दलका नेता र उम्मेदवारहरु आफना प्रतिबद्धताहरु सुनाउन व्यस्त छन् ।सबैतिर नेताहरुको प्रतिष्पर्धात्मक दौडधुप छ । आफ्ना चुनावी रणनीतिहरु जनताका माझ प्रयोग गर्दै नतिजा आफनो पक्षमा पार्ने होडवाजी र दौडधुपमा व्यस्त नेताहरुसंग जनता भने सुशासन, समृद्धिको स्पष्ट खाका र परिवर्तनको अपेक्षा गरिरहेका देखिन्छन् । तर अन्तिम परिणाम भने जनताको मतले नै निर्धारण गर्नेछ।

तपाईको बिचार

सम्बन्धित खबर