आदिवासी जनजातिको आवाज सशक्त बनाउन गेल्जे शेर्पा कांग्रेस केन्द्रीय सदस्यको चुनावी मैदानमा

561

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित गेल्जे लामा शेर्पाले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। शेर्पाले आदिवासी जनजाति कोटातर्फबाट केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिक तथा सामाजिक अभियानमा सक्रिय शेर्पा नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष समेत हुन्। समुदाय, सामाजिक संस्था र व्यवसायिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका शेर्पाले आदिवासी जनजातिका अधिकार, पहिचान, प्रतिनिधित्व र सामाजिक सम्मानका विषयलाई पार्टीको मूल राजनीतिक धारसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्।
रामेछापबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुन सफल शेर्पा अहिले भने आफ्नो उम्मेदवारीलाई देशभरका महाधिवेशन प्रतिनिधिहरूमाझ पुर्‍याउँदै केन्द्रीय सदस्यमा निर्वाचित हुने अभियानमा छन्।
शेर्पाको उम्मेदवारीलाई केवल एउटा व्यक्तिको पदप्राप्तिको प्रयासका रूपमा भन्दा पनि नेपाली कांग्रेसभित्र आदिवासी जनजाति समुदायको राजनीतिक प्रतिनिधित्वलाई थप सशक्त बनाउने प्रयासका रूपमा हेरिएको छ।
सत्यलाई सत्य भन्न सक्ने स्पष्ट विचार, सरल र स्वच्छ व्यवहार, समुदायको सुख–दुःखमा साथ दिने भावना तथा जिम्मेवारी प्राप्त भएपछि त्यसलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता आफ्नो राजनीतिक यात्राका आधार रहेको शेर्पाको भनाइ छ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षका रूपमा निर्वाह गरेको भूमिका, शेर्पा संघको नेतृत्व तथा सामाजिक र संस्थागत क्षेत्रमा हासिल गरेको अनुभवलाई उनले अब नेपाली कांग्रेसको केन्द्रीय तहमा उपयोग गर्न चाहेका छन्। त्यस्तै, नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट समेत महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त अनुभव उनको राजनीतिक यात्राको महत्वपूर्ण आधार बनेको छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतापूर्ण समाज भएकाले पार्टीको संगठन र राज्यका हरेक तहमा सबै समुदायको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको शेर्पाको धारणा छ। आदिवासी जनजाति समुदायका आवाज, अधिकार, पहिचान, संस्कृति र सम्मानका विषयलाई पार्टीको नीति, नेतृत्व र निर्णय प्रक्रियामा अझ प्रभावकारी रूपमा स्थापित गर्न आफूले भूमिका खेल्ने उनले बताउँदै आएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा अनुभव, सामाजिक सम्बन्ध, संगठनात्मक क्षमता र समुदायसँगको प्रत्यक्ष सम्बन्ध भएका व्यक्तिको आवश्यकता रहेको भन्दै शेर्पाको उम्मेदवारीलाई समर्थकहरूले सकारात्मक रूपमा लिएका छन्।
रामेछापबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर प्राप्त गरेको विश्वासलाई अब देशभरका कांग्रेस महाधिवेशन प्रतिनिधिको विश्वासमा रूपान्तरण गर्ने लक्ष्यसहित शेर्पा केन्द्रीय सदस्यको निर्वाचनमा होमिएका छन्।
“आदिवासी जनजातिको आवाजलाई कांग्रेसको केन्द्रीय नेतृत्वमा अझ सशक्त बनाउने, पार्टीभित्र समावेशी प्रतिनिधित्वलाई बलियो बनाउने र प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने” प्रतिबद्धतासहित शेर्पाले देशभरका महाधिवेशन प्रतिनिधिसँग आफ्नो पक्षमा मतदानका लागि अपिल गरेका छन्।
१५औँ महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्य पदका उम्मेदवार गेल्जे लामा शेर्पाले आफूलाई एउटा समुदायको मात्र नभई नेपाली कांग्रेसभित्र समावेशी र जिम्मेवार नेतृत्वको पक्षमा उभिएको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

तपाईको बिचार

सम्बन्धित खबर