काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हितनै राजनीतिको धर्म भएको बताउनुभएको छ । बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्नुहुँदै उहाँले राजनीतिमा सेवा भावले काम गर्नुनै राजनीतिको धर्म भएको बताउनुभयो । मानव समाजलाई सुव्यवस्थित अगाडी बढाउन कानून नभएका बेला धर्मले गर्न हुने र नहुने भनेका कुरालाई नै मानिसहरुले कानूनका रुपमा पालना गरेर समाज अहिलेको अवस्थामा आइपुगेकाले धर्मको महत्व विशिष्ट रहेको चर्चा गर्नुभयो ।
‘समाजलाई अगाडी बढाउने क्रममा धर्मसँग हामी संलग्न छौं । धर्मले गर्न हुने र नहुने कामलाई मानिस आफैले छुट्याएर समाजलाई राम्रो हुने काममा अघि बढ्न सिकाएको छ,’ उहाँले भन्नुभयो,‘ धर्ममा लागू हुने नीति र जुन मान्यता छ । त्यो समाजको हरेक अरु पक्षमा पनि लागू हुन्छ । व्यापारमा पनि धर्म हुन्छ । उद्योगपतिको नि धर्म हुन्छ । विभिन्न व्यवसायमा लागेकाहरुको पनि धर्म हुन्छ । राजनीति गर्नेहरुको पनि धर्म हुन्छ । समाजलाई हित हुने काम हामीले गर्नुपर्छ । सेवाभाव र समाजको हित हुने काम गर्नुनै राजनीतिको धर्म हो । ’ उहाँले भक्तजनका लागि धर्मशाला बनाउने उद्धेश्यले महायज्ञ लगाइएको भन्दै शहरी विकास मन्त्रालयले गर्न सक्ने काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
त्यस्तै, उपप्रधानमन्त्री सिहले स्याङ्जा पुग्दा ०४२ सालमा सत्याग्रहको प्रचार प्रसारका लागि आइपुगेको सन्दर्भ स्मरण गराएको पनि बताउनुभयो । पार्टी प्रतिबन्धित रहेका बेला ०४२ सालभन्दा अगाडी सत्याग्रहको तयारीका बेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला,शेरबहादुर देउवासहित गोपालमान श्रेष्ठको घरमा पार्टी अधिवेशन र सत्याग्रहको तयारीका लागि पुगेको भन्दै पुरानो दिनको सम्झना गर्नुृभयो । उहाँले महायज्ञ सफलताको शुभकामना दिँदै स्याङ्जाको पूर्वाधार विकासमा सबै जनप्रतिनिधिसँग सल्लाह गरेर गर्नुपर्ने काम गर्ने पनि बताउनुभयो ।
तपाईको बिचार