काठमाडौं । खिचापोखरी, न्यूरोडमा रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले संस्थाको वार्षिक प्रगति, वित्तीय अवस्था तथा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
बबरमहलमा आयोजित साधारण सभा संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
संस्थाले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्ममा सहकारीमा १ हजार ९७५ जना शेयर सदस्य पुगेका छन्। यस अवधिमा संस्थाको शेयर पुँजी ८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ७५ करोड रुपैयाँभन्दा बढी र कर्जा लगानी करिब ३९ करोड रुपैयाँ रहेको छ।
सहकारीले वित्तीय पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकता दिँदै नेपाल वित्तीय प्रतिवेदन मानअनुसारको लेखा प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियामक निकायका निर्देशन पालना गर्दै आएको जानकारी सभामा दिइएको थियो।२९ जना संस्थापक सदस्यबाट सुरु भएको सहकारीले आफ्नो सेवा विस्तार गर्दै हाल खिचापोखरी, न्यूरोडस्थित आफ्नै आधुनिक तथा सुविधासम्पन्न भवनबाट सदस्यलाई प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।
वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व र सदस्यको क्षमता विकासलाई समेत संस्थाले आफ्नो कार्ययोजनामा समेटेको छ। १९औँ स्थापना दिवस तथा वार्षिक कार्यक्रमअन्तर्गत बृहत् रक्तदान, ४० वर्षमाथिका पुरुष सदस्यका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण, सदस्य सहभागितामा पदयात्रा, वार्षिक मनोरञ्जन तथा सहभोज कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।त्यसैगरी मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन वितरण तथा साना तथा मझौला व्यवसायमा संलग्न सदस्यको व्यावसायिक प्रवर्द्धनका लागि डिजिटल मार्केटिङ तालिमसमेत सञ्चालन गरिएको थियो।
साधारण सभाले कार्यवाहक अध्यक्ष बैदारद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णबहादुर बस्नेतको प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णबहादुर गुभाजुद्वारा प्रस्तुत बाह्य लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ।त्यस्तै, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम तथा अनुमानित बजेटसँगै लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद सहकारीले सदस्य संख्या, शेयर पुँजी र बचत संकलनमा वृद्धि गर्न सफल भएको बताए। उनले संस्थाले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत प्रभावकारी काम गरेको उल्लेख गरे।काठमाडौं महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले चाइना ट्रेड बहुउद्देश्यीय सहकारीलाई न्यूरोड क्षेत्रको स्थानीय विकास, उद्यमशीलता प्रवर्द्धन र आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको संस्थाका रूपमा चर्चा गरे। उनका अनुसार सहकारीले सदस्यको विश्वास जित्दै स्थानीय समुदायसँग सहकार्य गरिरहेको छ।सभामा प्रशिक्षक कुबेर निरौलाले ‘सफल सहकारीका लागि सदस्यको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमार्फत सहकारीको दिगोपन, प्रभावकारिता र संस्थागत विकासमा सदस्यको सक्रिय सहभागिताको महत्त्वबारे प्रकाश पारिएको थियो।साधारण सभाले आगामी दिनमा वित्तीय सेवा विस्तारसँगै संस्थागत सुशासन, सदस्य हित र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
तपाईको बिचार