भिजन लुम्बिनीका दुई कम्पनीको साधारणसभा सम्पन्न, लाभांशसँगै आईपीओ निष्कासनको प्रस्ताव पारित

641

Writing

३ मंसिर । भिजन लुम्बिनी समूहअन्तर्गतका दुई कम्पनीले वार्षिक साधारणसभामार्फत सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका छन्। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ३.६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ भने भिजन लुम्बिनी लिमिटेडले ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको बिहीबार बुटवलमा सम्पन्न आठौँ वार्षिक साधारणसभाले हाल कायम एक अर्ब ९१ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजीको ३.६८ प्रतिशतका दरले सात करोड ४० लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त लाभांश प्रचलित कानुनअनुसार कर कट्टी गरी सेयरधनीलाई वितरण गरिनेछ।

सभाले लाभांश वितरणसँग सम्बन्धित कर प्रयोजनका लागि ३५ लाख २३ हजार २६ रुपैयाँ ३२ पैसा छुट्याउने प्रस्तावसमेत स्वीकृत गरेको छ।

त्यसैगरी, भिजन लुम्बिनी लिमिटेडको एघारौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले आफ्नो २० प्रतिशत सेयर सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) मार्फत निष्कासन गर्ने प्रस्तावसमेत सभाबाट अनुमोदन गराएको अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो।

ऊर्जा क्षेत्रमा लगानी विस्तार र संस्थागत विकासलाई प्राथमिकता दिँदै अघि बढेको कम्पनीले सामूहिक लगानी तथा सर्वसाधारणको सहभागितालाई थप फराकिलो बनाउने लक्ष्य राखेको छ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीका अध्यक्ष सुदीप सिंह अधिकारीले ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्दै कम्पनीलाई थप उचाइमा पुर्‍याउने लक्ष्यसहित काम भइरहेको बताउनुभयो। प्रबन्ध सञ्चालक जगतबहादुर पोखरेलले बुटवलबाट सुरु भएको कर्पोरेट संस्कृति, सामूहिक लगानी र समावेशी सहभागिताको अभ्यास अहिले देशव्यापी रूपमा विस्तार भएको बताउनुभयो।

उहाँका अनुसार संस्थागत सुशासन, सामूहिक प्रयास र सबै पक्षको सहभागिता कम्पनीको प्रगतिका प्रमुख आधार हुन्।

साधारणसभामा एचआईडीसीएलका प्रतिनिधि ई. वासुदेव भण्डारी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक बालकृष्ण बस्नेतलगायतले कम्पनीको प्रगति र नेपाली ऊर्जा क्षेत्रमा देखिएका सम्भावनाबारे धारणा राख्नुभएको थियो।

त्यस्तै, कम्पनीका सल्लाहकार गणेशकुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य तथा पूर्व सञ्चालक सन्तोष पोखरेल, सेयर सदस्य चिरञ्जीवी पौडेल र लक्ष्मण घिमिरेलगायतले कम्पनीको वर्तमान अवस्था र भावी कार्यदिशाबारे विचार व्यक्त गर्नुभएको थियो।

कम्पनीमा हाल एक हजार ४८२ जना सेयर सदस्य आबद्ध छन्। सेयरधनीको विश्वास र सहभागितालाई आधार बनाएर ऊर्जा क्षेत्रमा लगानी तथा गतिविधि अघि बढाउँदै आएको कम्पनीले जनाएको छ।

कार्यक्रमको सञ्चालन कम्पनीका कानुनी सल्लाहकार रामप्रसाद खनालले गर्नुभएको थियो।

तपाईको बिचार

सम्बन्धित खबर