५ मंसिर, कपन, काठमाण्डौ। कपनगढी बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारणसभाबाट विनाेद कुमार कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। निवर्तमान अध्यक्ष दिलिप खत्रीकोसभापतित्व र बुढानीलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको सर्वसम्मत निर्वाचन सम्पन्न भएको हो।
साधारणसभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै, लेखापरीक्षण प्रतिवेदन पनि सभामा पेश भएर पारित भएको छ।
संस्थाको वित्तीय प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कपनगढी सहकारीको कुल सम्पत्ति तथा दायित्व २२ करोड ८९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको शेयर पुँजी २ करोड ४८ लाख ४५ हजार ५०० रुपैयाँ रहेको छ भने सदस्यहरूबाट संकलित बचत १७ करोड ७३ लाख ४१ हजार रुपैयाँ पुगेको छ । संस्थाले १७ करोड ९४ लाख ७६ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
त्यस्तै, नगद तथा बैंक मौज्दात ३ करोड ९१ लाख १९ हजार रुपैयाँ र जगेडा तथा अन्य कोषमा १ करोड ६७ लाख १२ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८२/८३ मा संस्थाले २ करोड ५९ लाख ५० हजार रुपैयाँ कुल आम्दानी गरेको छ । सोही अवधिमा कुल खर्च २ करोड ४ लाख ४८ हजार रुपैयाँ रहेको छ । संस्थाको खुद बचत ५५ लाख १ हजार रुपैयाँ रहेको छ । संस्थाले औसत २२.०६ प्रतिशत तरलता कायम गरेको र भाखा नाघेका तथा जोखिममा रहेका ऋणको सुरक्षणका लागि मापदण्डअनुसार करिब ३० लाख ९१ हजार रुपैयाँ ऋण सुरक्षण कोषमा व्यवस्था गरिएको जनाएको छ ।
तपाईको बिचार