अखण्ड सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ३२ करोडभन्दा बढीको कुल सम्पत्ति

533

काठमाडौं। कलंकीस्थित अखण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा शनिबार १४ कात्तिक २०८३ मा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दामोदर लम्सालको सभापतित्व तथा संस्थापक अध्यक्ष प्रमोद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभाले आर्थिक तथा संस्थागत गतिविधिको समीक्षा गर्दै आगामी वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ।

साधारण सभामा अध्यक्ष लम्सालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष इन्दिरा अधिकारी कोइरालाले वित्तीय प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक गणेशप्रसाद ढकालले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूले छलफल तथा सुझाव राखेपछि पारित गरिएको हो।

संस्थाले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ५४ लाख ५५ हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, संस्थाको कुल सम्पत्ति तथा दायित्व ३२ करोड १४ लाख ९० हजार १६५ रुपैयाँ ४५ पैसा रहेको छ। समीक्षा अवधिमा संस्थाले ७ लाख २९ हजार १५८ रुपैयाँ ६७ पैसा कुल बचत गरेको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय सूचकहरूमाथि विस्तृत छलफल गरिएको थियो। साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश वितरण गर्ने प्रस्ताव, आर्थिक वर्ष २०८३/८४ को अनुमानित आयव्यय विवरण तथा वार्षिक नीति र कार्यक्रममाथि समेत छलफल भएको थियो।

यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सदस्य चयनलगायतका विषय पनि सभाको कार्यसूचीमा समेटिएका थिए।

संस्थाको सञ्चालक समितिको २०८३ भदौ ८ गते बसेको ६४८औँ बैठकको निर्णयअनुसार आयोजना गरिएको साधारण सभामा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सभाले संस्थाको वित्तीय अवस्था, विगतका गतिविधि र भावी योजनाबारे समीक्षा गर्दै संस्थाको आगामी कार्यदिशाका विषयमा समेत छलफल गरेको थियो।

तपाईको बिचार

सम्बन्धित खबर