१९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप, कार्तिक १८ गतेसम्म सञ्चालन हुने

565

ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९ँब्ल्० को आयोजनामा ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ। यसअघि कार्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको प्रदर्शनी अब कार्तिक १८ गते बुधबारसम्म सञ्चालन हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।

प्रदर्शनीको पहिलो दिन अपेक्षाभन्दा उत्साहजनक कारोबार हुनुका साथै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। तर, मौसममा आएको प्रतिकूल परिवर्तनसँगै शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण प्रदर्शनी स्थलमा दर्शक तथा अवलोकनकर्ताको आवागमन प्रभावित भएको थियो। वर्षाका कारण मेला स्थल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि पुष्प व्यवसायी, फूलप्रेमी तथा सर्वसाधारणले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्न असुविधा भएको थियो।

वर्षाका कारण प्रदर्शनी अवलोकन गर्न छुटेका फूलप्रेमी, पुष्प व्यवसायी, उपभोक्ता तथा सर्वसाधारणलाई थप अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी सञ्चालन अवधि दुई दिन थप गरी कार्तिक १८ गते बुधबारसम्म कायम गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जानकारी दिएको छ।
थप गरिएको अवधिमा पनि प्रदर्शनीमा सहभागी भई विभिन्न प्रजातिका मौसमी तथा सदाबहार फूल, पुष्प सजावट, नर्सरीजन्य उत्पादन तथा पुष्प व्यवसायसँग सम्बन्धित सामग्रीहरूको अवलोकन गर्नुका साथै खरिदसमेत गर्न सकिनेछ।

तपाईको बिचार

सम्बन्धित खबर