तारकेश्वर यातायातकाे सातौँ साधारणसभा: सुरक्षित र यात्रुमैत्री सार्वजनिक यातायातमा जोड

537

काठमाण्डौँ। तारकेश्वर यातायात प्रालिको सातौँ वार्षिक साधारणसभा शनिबार ( २३ साउन, २०८३ ) काठमाडौंमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीकृष्ण नगरकोटीको सभापतित्वमा सम्पन्न साधारणसभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

साधारणसभा २०८३ साउन २३ गते शनिबार बिहान ८ बजे बालाजु सिटी पेट्रोल पम्पअगाडि रहेको गोरखा प्यालेस इभेन्ट्समा आयोजना गरिएको थियो ।

दुर्घटनापछि चालक कुट्ने प्रवृत्ति रोक्न माग:

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिटौलाले सवारी दुर्घटनापछि चालक तथा सहचालकमाथि हुने हातपात र कुटपिटको प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने बताएका छन् । उनले चालकको गल्ती भए–नभएको अनुसन्धान गर्ने, दोष निर्धारण गर्ने र दोषीमाथि कारबाही गर्ने अधिकार कानुनी निकायको भएको भन्दै भीडले आफैँ चालकलाई दण्डित गर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनका अनुसार दुर्घटनापछि अनुसन्धान तथा कारबाहीका लागि कानुनी प्रक्रिया रहेकाले त्यसलाई छाडेर चालक तथा सहचालकमाथि आक्रमण गर्ने प्रवृत्तिले यातायात श्रमिकको सुरक्षामाथि प्रश्न उठाएको छ ।

सिटौलाले प्रहरी तथा ट्राफिक कर्मचारीको सुरक्षाजस्तै चालक र सहचालकको सुरक्षाको प्रत्याभूति पनि राज्यले गर्नुपर्ने धारणा राखे । दुर्घटनाको वास्तविकता कानुनी अनुसन्धानबाटै टुंगो लगाउनुपर्ने भन्दै चालक तथा सहचालकमाथि हुने आक्रमण रोक्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

यातायात क्षेत्रका समस्या समाधानमा नीतिगत सुधार आवश्यक:

साधारणसभाका सभापति तथा तारकेश्वर यातायात प्रालिका अध्यक्ष श्रीकृष्ण नगरकोटीले यातायात व्यवसायीले दैनिक रूपमा भोग्दै आएका समस्या र व्यवसाय सञ्चालनका क्रममा देखिएका चुनौतीबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

उनले सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन राज्य, यातायात व्यवसायी तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । यातायात क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारले व्यवहारिक तथा दीर्घकालीन पहल गर्नुपर्नेमा नगरकोटीले जोड दिए ।

यात्रु सेवाको गुणस्तर सुधारमा व्यवसायी जिम्मेवार हुनुपर्ने:

महासङ्घका अध्यक्ष सिटौलाले यातायात क्षेत्रको सुधार व्यवसायीका माग सम्बोधन गरेर मात्रै सम्भव नहुने बताएका छन् । यात्रुलाई प्रदान गरिने सेवाको गुणस्तरमा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

उनले व्यवसायी, चालक तथा सहचालकले यात्रुमाथि दुर्व्यवहार गर्ने, असहज व्यवहार देखाउने वा सेवा प्रदान गर्दा लापरबाही गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए । सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउन व्यवसायी तथा श्रमिक पनि आफ्नो जिम्मेवारीप्रति गम्भीर हुनुपर्ने उनले उल्लेख गरे ।

यात्रु छुटको रकम कार्यान्वयन गर्न सरकारसँग माग:

सिटौलाले यातायात व्यवसायीले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थी, दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकलाई विभिन्न किसिमका छुट तथा सुविधा उपलब्ध गराउँदै आएको बताए ।

सरकारले प्रतिबद्धता जनाएअनुसार उपलब्ध गराउने भनिएको ६० प्रतिशत छुट रकम तथा त्यससम्बन्धी नीति तत्काल कार्यान्वयन गर्न उनले सरकारसँग माग गरे । यातायात व्यवसायीले सामाजिक दायित्व निर्वाह गरिरहेकाले राज्यले पनि त्यसको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।

सुरक्षित र यात्रुमैत्री सार्वजनिक यातायातमा जोड:

साधारणसभामा यातायात व्यवसायी तथा श्रमिकको सुरक्षा, यात्रुको अधिकार, सार्वजनिक यातायातको सेवा सुधार तथा यातायात क्षेत्रका नीतिगत विषयमा समेत छलफल भएको थियो ।
सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री बनाउन सरकार, व्यवसायी, श्रमिक, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर