डिजिटल लोकप्रियताले मात्रै सत्ता चल्दैन : महासचिव पोखरेल

549

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले डिजिटल लोकप्रियता र सामाजिक सञ्जालको एल्गोरिदमको भरमा मात्रै राज्यसत्ता सञ्चालन गर्न नसकिने बताएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नयाँ राजनीतिक नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। उनले राजनीति लामो संघर्ष, समर्पण तथा राज्य सञ्चालनको कला र विज्ञान भएको उल्लेख गरेका छन्।

पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तलीले अघि बढाएको योजनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ठूलो परियोजना सुरु गर्नुअघि स्रोत र व्यवस्थापनको सुनिश्चितता आवश्यक रहेको बताएका छन्।

उनका अनुसार योजना आकर्षक भए पनि दानदातव्यको भरमा ठूलो परियोजना सुरु गर्नु अपरिपक्व कदम थियो। त्यसको परिणामस्वरूप रकम अभाव र बढ्दो ऋणका कारण परियोजना संकटमा परेको तथा त्यसमा संलग्न व्यक्तिहरू पलायन हुन बाध्य भएको उनले उल्लेख गरेका छन्।

यही प्रसंग जोड्दै पोखरेलले अहिलेको नयाँ राजनीतिक नेतृत्वको कार्यशैली पनि त्यस्तै दिशामा अघि बढिरहेको देखिएको टिप्पणी गरेका छन्।

‘राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो,’ उनले भनेका छन्, ‘केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अराजकता, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ।’

पोखरेलले स्पष्ट योजना र दूरदृष्टिबिना राज्यसत्ता सञ्चालन गर्न खोजिए भविष्यमा गम्भीर समस्या आउन सक्ने चेतावनीसमेत दिएका छन्।
उनले समयमै सचेत हुन आग्रह गर्दै भनेका छन्, ‘समयमै चेत खुलोस् !’

तपाईको बिचार