काठमाडौं । नेपाल वितरक संघले आफ्नो २५औं साधारणसभा तथा रजत जयन्ती समारोह शुक्रबार ( २२ साउन , २०५८ ) सम्पन्न गरेको छ । वि. सं. २०५८ साउन २२ गते स्थापित वितरक संघले हरेक बर्ष यही मितिमा बार्षिकोत्सव मनाउने निर्णय पनि गरेको छ।
संघका अध्यक्ष प्रेमहरि मैनालीको अध्यक्षतामा विशेष समारोहका बीच साधारणसभा सहित रजत जयन्ती मनाइएको हो । सो अवसरमा संघले आफ्ना संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान प्रदान गरेको छ। त्यस्तै कार्यक्रममा संघको भवन निर्माण गर्ने उदघोष समेत अध्यक्ष मैनालीले उक्त अवसरमा गरेका छन्।
रजत जयन्ती समारोहमा अध्यक्ष मैनालीले रजत जयन्ती मनाउन पाउँदा सम्पूर्ण संघ परिवारलाई गौरवको अनुभूति भएको बताए । उनले संघ सदैव व्यवसायीको हक–हित र व्यावसायिक स्थायित्वका लागि सक्रिय रहँदै आएको उल्लेख गरे ।
रजत जयन्ती समारोहका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले निजी क्षेत्रको प्रवर्द्धन र संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘ व्यवसायीहरू सक्षम र बलिया भएमा देश बलियो हुन्छ । व्यवसायीलाई तर्साएर होइन, प्रोत्साहन गरेर अघि बढाउनुपर्छ,’ उनले भने, ‘प्रदेश सरकारको अधिकार क्षेत्रभित्रका जस्तोसुकै समस्या भएपनि आउनुहोस्, बसेर छलफल गरौँ—हामी तत्काल समाधान गर्न तयार छौँ ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले व्यावसायिक सुरक्षाका लागि सरकारले काम गर्नुपर्ने बताए । ‘सरकारले उधारो असुली ऐन तुरुन्तै ल्याउनुपर्छ । निजी क्षेत्रले यस ऐनका लागि निरन्तर सुझाव दिइरहेको छ र वर्तमान परिप्रेक्ष्यमा यो ऐन अति नै अपरिहार्य भइसकेको छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डेले हाल धेरै व्यवसायीहरू पलायनको अवस्थामा पुगेकाले वितरक पेशामा आबद्ध व्यवसायीहरूको संरक्षण तत्काल जरुरी रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठले मुलुकमा निजी क्षेत्र र व्यवसायमैत्री नीतिको खाँचो रहेको औंल्याए ।
त्यस्तै, नेपाल वितरक महासंघका अध्यक्ष दुर्गाप्रसाद गौतमले वितरकहरूले नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको चर्चा गर्दै नेपाल वितरक संघ महासंघकै सबैभन्दा पुरानो र पहिलो संस्था भएको बताए । संघका पूर्व अध्यक्ष एस.पि. ढकालले २५ वर्षको यो यात्रामा संघले व्यावसायिक हितका लागि अनेकौँ उल्लेखनीय काम गरेको स्मरण गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठले आर्थिक गतिविधि बढाउन निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए ।
संघका उपाध्यक्ष केशवप्रसाद मैनालीले संघको २५औं साधारणसभा तथा रजत जयन्ती समारोहलाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, व्यवसायी तथा सहयोगीहरूप्रति आभार प्रकट गरे ।
काठमाडौँ उपत्यकाभित्र संघमा ६ सय व्यवसायीहरू आबद्ध छन् । यी व्यवसायीहरूमार्फत १० हजारदेखि १२ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा ठूलो संख्यामा नागरिकहरूले रोजगारीको अवसर प्राप्त गरिरहेका संघले जनाएको छ।
तपाईको बिचार