ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ब्याजदरमै अटो लोन

685

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपो–२०२६ को अवसरमा व्यक्तिगत सवारीसाधन खरिद गर्ने ग्राहकका लागि न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने विशेष योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार एक्सपो अवधिमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा लिन सक्नेछन्। हाल कायम आधारदरअनुसार ग्राहकले न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन प्राप्त गर्नेछन्। बैंकको आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर स्वतः समायोजन हुने व्यवस्था गरिएको छ।

यस्तै, नयाँ विद्युतीय (इभी) सवारी खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको विशेष योजना पनि ल्याएको छ। तीन वर्षपछि भने बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ।

ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमा आफ्नै स्टल सञ्चालन गरेको छ। उक्त स्टलबाटै इच्छुक ग्राहकले अटो लोनका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।

बैंकले आधुनिक प्रविधिमा आधारित सेवा विस्तारसँगै ग्राहकमैत्री बैंकिङ सेवामा जोड दिँदै आएको छ। सोही क्रममा बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर’, ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल’ लगायतका प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको जनाएको छ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर