६ फागुन , काठमाडौं । नेपाली कांग्रेस तनहुँ -काठमाडौं सम्पर्क समितिको आयोजनामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसका तनहुँ जिल्लाका उम्मेदवारहरु र काठमाडौंमा रहेका मतदाता तथा कार्यकर्तासङ्ग भेटघाट र उम्मेदवार परिचय कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
सम्पर्क समितिका अध्यक्ष उत्तम मिश्रको सभापतित्व तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा बालाजुस्थित बालाजी पार्टी प्यालेसमा सम्पन्न भएको उक्त बृहत राजनीतिक सभामा नेपाली कांग्रेसका तनहुँ जिल्ला क्षेत्र न.- १ का उम्मेदवार गोविन्द भट्टराई र क्षेत्र न.-२ का उम्मेदवार शंकर भण्डारी , तनहुँस्थित व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेका , वरिष्ठ अधिवक्ता यदुनाथ खनाल,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेलका साथै नेपाली काङ्ग्रेस पार्टीका तनहुँ जिल्लाका नेता, कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
उक्त पार्टी सदस्य र शुभेच्छुक भेटघाट कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री पौडेलले अहिले नेपाली कांग्रेस आन्तरिक रूपमा रूपान्तरण भएर आएको र देश रूपान्तरणका लागि स्पष्ट आधारसहित अघि बढेको बताए। महामन्त्री पौडेलले बदलिएको कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै देश परिवर्तन गर्ने उद्देश्य लिएको स्पष्ट पारे ।
‘विशेष महाधिवेशनले कांग्रेस नयाँ बनेको होइन, रूपान्तरण भएर आएको हो। अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्नेछ। रूपान्तरणको अर्थ हाम्रा नीति, सिद्धान्त र व्यवहारले पुष्टि गर्ने हो,’ उनले भने’पार्टीले एक व्यक्ति दुई पटकसम्म प्रधानमन्त्री हुने, सांसद् र मन्त्रीको समयरेखा, निर्वाचनअघि गठबन्धन नगर्नेलगायत नीति अघि सारेको छ। त्यसैले यसपटक सबैले आफ्नो आस्थाको पार्टी र चुनाव चिन्हमा मत हाल्ने अवस्था बनेको छ। भविष्यमा थप प्रभाव पनि देखिने छ।’
महामन्त्री पौडेलले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा भ्रष्टाचार अन्त्य र सुशासन मुख्य माग रहेको उल्लेख गर्दै कांग्रेसले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएको बताए । भ्रष्टाचार अन्त्यका लागि आर्थिक कारोबार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्रमा भ्रष्टाचार अन्त्य, सुशासन कायम, स्वदेशमा रोजगारी सिर्जना र डिजिटल मुलुक निर्माणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
तनहुँ क्षेत्र नं.-१ का उम्मेदवार गोविन्द भट्टराईले नेपाली कांग्रेस प्रजातान्त्रिक व्यवस्था स्थापनाको लागि नै बनेको ऐतिहासिक पार्टी रहेको अब पनि देशको नेतृत्व गर्न सक्षम रहेको बताए । “पुरानो भए पनि अहिले गगन थापाको नेतृत्वमा पुनः नयाँ भएर आएको बदलिएर आएको छ। तनहुँमा कांग्रेसले जित्छ र देशभर जितेर सरकार बनाउँछ” , भट्टराईले दाबी गरे।
त्यस्तै , व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले काग्रेसले शान्ति , स्थिरता र संविधानको लागि गरेको योगदान भुल्न नहुने बताए । फेरि एउटा संवैधानिक यात्रामा जानुपर्ने अवस्था आएको बताउँदै पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेलले अहिलेको विश्वको भुराजनितीक र राष्ट्रिय राजनितीक परिस्थितिमा नेपाली कांग्रेस नै सबैभन्दा प्रष्ट र भरपर्दो शक्ति भएको दाबी गरे।
सम्पर्क समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति उत्तम मिश्रले मुलुकको विकास र समृद्धिका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जीताउन आवश्यक भएकोले काग्रेसको पक्षमा वातावरण बनाउन सबैको सहयोगको लागि आव्हान गरे।
तपाईको बिचार