नेपाली कांग्रेस गोरखाका उम्मेदवारहरुको काठमाडौंमा पार्टी सदस्य र शुभेच्छुक भेटघाट कार्यक्रम सम्पन्न

961

२ फागुन , काठमाडौं । नेपाली कांग्रेस गोरखा-काठमाडौं सम्पर्क समिती तथा नेपाल विद्यार्थी संघ गोरखा-काठमाडौं सम्पर्क समितीको आयोजनामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसका गोरखा जिल्लाका उम्मेदवारहरु र काठमाडौंमा रहेका मतदाता तथा कार्यकर्तासङ्ग भेटघाट र उम्मेदवार परिचय कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा स्वयम्भूस्थित बुद्ध पार्टी प्यालेसमा सम्पन्न भएको उक्त बृहत राजनीतिक सभामा नेपाली कांग्रेसका गोरखा जिल्ला क्षेत्र न.- १ का उम्मेदवार प्रेमकुमार खत्री र क्षेत्र न.-२ का उम्मेदवार प्रकाशचन्द्र दवाडीका साथै पार्टीका गोरखा जिल्लाका नेता, कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

उक्त पार्टी सदस्य र शुभेच्छुक भेटघाट कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री पौडेलले अहिले नेपाली कांग्रेस आन्तरिक रूपमा रूपान्तरण भएर आएको र देश रूपान्तरणका लागि स्पष्ट आधारसहित अघि बढेको बताए। महामन्त्री पौडेलले बदलिएको कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै देश परिवर्तन गर्ने उद्देश्य लिएको स्पष्ट पारे ।

‘विशेष महाधिवेशनले कांग्रेस नयाँ बनेको होइन, रूपान्तरण भएर आएको हो। अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्नेछ। रूपान्तरणको अर्थ हाम्रा नीति, सिद्धान्त र व्यवहारले पुष्टि गर्ने हो,’ उनले भने’पार्टीले एक व्यक्ति दुई पटकसम्म प्रधानमन्त्री हुने, सांसद् र मन्त्रीको समयरेखा, निर्वाचनअघि गठबन्धन नगर्नेलगायत नीति अघि सारेको छ। त्यसैले यसपटक सबैले आफ्नो आस्थाको पार्टी र चुनाव चिन्हमा मत हाल्ने अवस्था बनेको छ। भविष्यमा थप प्रभाव पनि देखिने छ।’

महामन्त्री पौडेलले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा भ्रष्टाचार अन्त्य र सुशासन मुख्य माग रहेको उल्लेख गर्दै कांग्रेसले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएको बताए । भ्रष्टाचार अन्त्यका लागि आर्थिक कारोबार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्रमा भ्रष्टाचार अन्त्य, सुशासन कायम, स्वदेशमा रोजगारी सिर्जना र डिजिटल मुलुक निर्माणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रकाशचन्द्र दवाडी ले गोरखाको विकास र मुलुकको समृद्धिका लागि कांग्रेसको जीत आवश्यक भएको बताए। १५ वर्षदेखि निरन्तर समाजसेवा गर्दै आएको दवाडीले जनताको सेवा गर्न समाजसेवा र राजनीतिलाई सँगै अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै , गोरखा क्षेत्र नं १ का उम्मेदवार प्रेम खत्रीले राष्ट्रिय समस्याको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राख्ने जानकारी दिए ।

कार्यक्रममा कांग्रेसका पुराना नेता चिरञ्जीवी वाग्ले, कमला पन्त, अब्दुल सत्तार, किरणबाबु श्रेष्ठ, कांग्रेस गोरखा जिल्ला सभापति र प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेले पनि आफ्नो धारणा राखेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर