काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ। नेपाली टोलीले यसपटक राष्ट्रिय पहिचान झल्किने विशेष डिजाइनको जर्सीमा विश्वमञ्चमा प्रतिस्पर्धा गर्नेछ।
नयाँ जर्सीमा विश्वकै सर्वोच्च शिखर सगरमाथा र नेपालको राष्ट्रिय जनावर एकसिंगे गैंडाको आकृति समावेश गरिएको छ। जर्सीको दुवै काँधमा नेपाली झण्डाको चन्द्र–सूर्य अंकित गरिएको छ भने परम्परागत रातो र निलो रङलाई आधुनिक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। क्यानका अनुसार जर्सीले नेपाली पहिचान, साहस र दृढ संकल्पलाई प्रतिबिम्बित गर्छ।
भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा रहेको छ। समूह चरणका सबै खेलहरू नेपालले भारतको प्रतिष्ठित वानखेडे स्टेडियम, मुम्बईमा खेल्ने तालिका तय भएको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले समूह चरणमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।
हालैका अन्तर्राष्ट्रिय खेलहरूमा उत्साहजनक प्रदर्शन गरेको नेपाली टोली नयाँ जर्सी र उच्च मनोबलका साथ विश्वकपको तयारीमा जुटेको छ। क्यानले नयाँ जर्सीले खेलाडी र समर्थक दुवैमा थप आत्मविश्वास र राष्ट्रिय गौरव जगाउने विश्वास व्यक्त गरेको छ।
तपाईको बिचार