नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ- विप्लव

नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ- विप्लव

565

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् ।

पार्टी पुनर्गठन दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बनाएका हुन् ।

पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने गरेको भन्दै उनले भने, ‘नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको छ । पुराना पार्टी एकले अर्कालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । म भ्रष्टाचारी होइन ।’

उनले अघि थपे, ‘मैले विदेशमा पैसा लुकाएको छैन जस्ता प्रष्टिकरणमात्रै दिएको देखिन्छ । म अन्यायमा परेको मात्रै सुनिन्छ । भ्रष्टाचारको ठुलो अतंक छ । माथिबाट बजेट जान्छ सबै बाँडेर खान्छन् । वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ ।’

देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उनले प्रश्न गरे । संसदमा क्रान्ति गर्ने मानिसलाई खिल्ली उडाउने, बदनाम गर्ने प्रयास भइरहेको प्रति उनले आक्रोश पोखे । विप्लवले १७ हजारको बलिदानीपछि आएको व्यवस्थामा माओवादी आन्दोलनले सोचेको यही हो भनेर प्रश्न गरेका थिए ।

उनले सरकारले जनताप्रति उत्तरदायी काम गर्न नसकेको आरोप लगाए । उनले अहिले एमसीसीपछि एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको बताए ।

महासचिव विप्लवले भने, ‘एसपीपी सम्झौता गर्ने षड्यन्त्र गर्ने अनि चीनले अघि सारेको बीआरआई परियोजना चाहिँ ल्याउन दिनुहुँदैन भन्ने, जसरी पनि रोक्नुपर्छ, ऋणको पासो हो भनेर भ्रम छर्ने, अनि विदेशी सेना ल्याउने सम्झौता चाहिँ जसरी पनि पास गर्ने खेल चलिरहेको छ ।’

तपाईको बिचार