भेरीमा रेबिजविरुद्धको खोप सकियो

भेरीमा रेबिजविरुद्धको खोप सकियो

822

राँझा, ८ असार । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप सकिएपछि बिरामीलाई सास्ती भएको छ ।

अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगो दरमा खोप किन्न बाध्य भएका छन् । प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत रेबिजविरुद्धको खोप भण्डारण नरहेकाले अभाव भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए ।

उनका अनुसार, गत जेठ २८ गते नै अस्पतालले रेबिजविरुद्धको खोप उपलब्ध गराउन नसकिनेबारे बिरामीको जानकारीको लागि सूचना टाँस गरिएको छ । भेरी अस्पतालमा उक्त खोप निःशुल्क पाइन्छ भनेर आएका बिरामीले अस्पतालमा नहुँदा बाहिरबाट किनेर लगाइरहेका छन् ।

अस्पतालमा भ्याक्सिन सकिएकाले बिरामीले बाहिरबाट किनेर ल्याएपछि लगाइदिने गरेको स्वास्थ्यकर्मी कृष्णबहादुर बुढाथोकीले जानकारी दिए । भेरी अस्पतालमा नयाँ र पुराना गरेर दैनिक एक सयजनाको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन आउने गरेका बुढाथोकीले बताए । एउटा सुई दुई बिरामीलाई लगाइन्छ । अस्पतालमा निःशुल्क मिल्ने खोप अस्पताल बाहिर बिरामीले ६ सय रूपैयाँसम्ममा खरिद गर्न बाध्य भएका छन् । रासस

तपाईको बिचार

सम्बन्धित खबर