चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

619

सर्लाही । चोरीको गाडी प्रयोग गरी घरमा चोरी गर्दै हिँडेका एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ निवासी १८ वर्षीय जुमुन मियाँ रहेका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ४ बजे बरहथवा नगरपालिका–३ प्रतिटोलस्थित विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेपछि उनी नजिकै रहेको मनोज सहनीको घरमा प्रवेश गरी चोरीको प्रयास गरिरहेका थिए। सो क्रममा घरधनीकी श्रीमतीले देखेर होहल्ला गरेपछि स्थानीय र प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

मियाँको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप गाडी २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको कार्यक्षेत्रबाट हराएको खुल्न आएको छ।

बरामद गाडी हराएको सवारीसँग मेल खाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर