भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै संघका महासचिव क्षितिज थेवेले आगामी महाधिवेशन पछिको नेतृत्वले युवा आन्दोलनको दशकको रुपमा मनाउने उल्लेख गर्नुभयो ।
संघले संगठन निर्माणको अभियान चलाइरहेको उल्लेख गर्दै उहाँले हालसम्म संघले एक महिनामा ५२ वटा जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको जानकारी दिनुभयो । युवालाई नेपाली राजनीतिमा संलग्न गराउने अब्बल संगठनको रुपमा राष्ट्रिय युवा संघ भएको उल्लेख गर्दै उहाँले हरेक दिनमा एक देखी छ वटासम्म जिल्ला अधिवेशन गरेर नेपाली राजनीतिको इतिहास कायम गरेको दावी गर्नुभयो ।
नेतृत्व छनोट गर्दा नीतिपरक हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा संघले जे चाहन्छ, त्यो गर्छ । विगतमा युवा परिषद्, युवा मन्त्रालय, जिल्ला जिल्लामा पासपोर्ट वितरण, लाइसेन्स वितरण, माओवादीको ज्यादतीको विरुद्धमा जनताको पक्षमा आन्दोलन, महंगी, भ्रष्टाचार, अनियमिततालगायतका कुराहरुमा सडक बाघको रुपमा नेतृत्व गरेको छ । समाजको रक्षक राजनीतिक दल हुनुपर्छ । त्यसको नेतृत्व संघले गर्नेछ ।
युवाको आवाज राष्ट्रिय राजनीतिमा तरंगित बनाउनुपर्छ । भक्तपुरको व्युटिफिकेशनको नेतृत्व राष्ट्रिय युवा संघले लिनुपर्छ । जुन देशभित्रमात्र नभई विदेशीले समेत सिक्ने र अध्ययन गर्ने स्थलको रुपमा बन्नुपर्छ ।’
तपाईको बिचार