दलहरुबीच सहकार्य र हार्दिकता आवश्यक : महामन्त्री शर्मा

दलहरुबीच सहकार्य र हार्दिकता आवश्यक : महामन्त्री शर्मा

83

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताउनुभएको छ । गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आउनुभएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरू बीच द्वन्द्व हुन नहुने बताउनुभयो ।

देशभित्र अवसरको खोजी गरिरहेका नागरिकलाई सोको सिर्जना गर्नका लागि बदलिएको राजनीतिको विषय बन्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आज दलहरू बीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो ।” आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको उहाँले बताउनुभयो । राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको उहाँको जिकिर थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीभित्र असन्तुष्टि राख्नेलाई घर फर्कन आग्रह गर्नुभयो । पार्टीभित्रका असन्तुष्टिलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकिने उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु”, उहाँले थप्नुभयो, “हामीले उता पर्म लाएको हो । अब फर्कन्छौँ भन्ने कार्यकर्ता पनि पाएको छु ।” घरघरमा बसेर सोच्न र बिउँझनका लागि कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो ।

वैशाख १० गते चितवन–२ को परिणाम बदलिने महामन्त्री शर्माको भनाइ थियो । उहाँले भन्नुभयो, “यो पटक वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्म लाएका थियौँ । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ ।”

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा एक लाख २४ हजार ६९५ जनाले मतदाता रहेका छन् ।  उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

तपाईको बिचार