देवानगञ्ज घटनामा निष्पक्ष न्यायिक आयोग गठन गर्न कांग्रेसको माग, सरकारका सहमति कार्यान्वयनप्रति असन्तुष्टि

643

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल सर्वस्वीकार्य न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। कांग्रेसले यसअघि उठाएको निष्पक्ष आयोग गठनको माग र सरकारी संयन्त्रबाट मात्र बनेको आयोगप्रति व्यक्त गरिएको संशय समयले सही सावित भएको दाबी गरेको छ।

मंगलबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले निष्पक्ष आयोग गठनको मागसहित १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि सरकारले बेवास्ता गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। तत्काल न्यायिक आयोग गठन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरिएको छ।

कांग्रेसले देवानगञ्ज–कप्तानगञ्ज, सिरहा लगायतका क्षेत्रमा भएको घटनामा निर्दोष नागरिकले ज्यान गुमाउनु परेको, निजी सम्पत्तिमा आगजनी तथा तोडफोडबाट ठूलो क्षति पुगेको उल्लेख गर्दै पीडितसँग सरकारले गरेको सम्झौता अझै कार्यान्वयन हुन नसकेको जनाएको छ। चार जनालाई शहीद घोषणा गर्नुबाहेक अन्य प्रतिबद्धता अलपत्र परेको भन्दै यसले स्थानीय समुदायमा आक्रोश बढाएको कांग्रेसको निष्कर्ष छ।

विज्ञप्तिमा सरकारले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडितलगायत विभिन्न समूहसँग गरेका सहमतिहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको आरोप लगाइएको छ। कांग्रेसले ती सहमतिलाई ‘तत्काल उम्किन तयार पारिएको कीर्ते कागज’ बन्न नदिन सरकारलाई सचेत गराउँदै सबै सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

कांग्रेसले सरकारको सहमति गर्ने तर कार्यान्वयनमा उदासीन रहने प्रवृत्तिले सरकारप्रतिको विश्वास कमजोर बनाएको टिप्पणी गरेको छ। यस्तो अवस्थाले समाजमा निराशा बढ्दै गएको र राज्यप्रतिको नागरिकको भरोसा कमजोर भएको उल्लेख गर्दै सरकारलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेको छ।

तपाईको बिचार