सरकार सुरक्षा, न्याय र सेवा दिन असफल : हर्क साम्पाङ

607

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले वर्तमान सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा–सुविधा र अवसर उपलब्ध गराउन पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशमा नागरिक मात्र होइन, सांसदसमेत सुरक्षित महसुस गर्न नसक्ने अवस्था रहेको दाबी गरे। सरकारले शान्ति–सुरक्षा कायम गर्न नसकेको भन्दै उनले प्रधानमन्त्रीले नैतिक र पदीय जिम्मेवारी वहन गर्दै संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताए।

साम्पाङले विगत साढे दुई महिनादेखि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन आग्रह गरिँदै आए पनि बेवास्ता गरिएको उल्लेख गर्दै अब ‘बालहठ’ त्यागेर सदनमा आउन आग्रह गरे।

उनले देशका विभिन्न स्थानमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना भइरहे पनि सरकारले प्रभावकारी रूपमा नियन्त्रण र कानुनी कारबाही गर्न नसकेको आरोप लगाए। नागरिकले सुरक्षित रूपमा यात्रा गर्न र निर्धक्क जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नु सरकारको पहिलो दायित्व भएको उनको भनाइ थियो।

न्याय प्रवाह प्रभावकारी हुन नसकेको उल्लेख गर्दै साम्पाङले आन्दोलनरत नागरिकका समस्या बुझ्न मन्त्री तथा सम्बन्धित निकायका अधिकारीहरू मन्त्रालयभित्र सीमित नभई जनतामाझ पुग्नुपर्ने धारणा राखे।

तपाईको बिचार