काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले वर्तमान सरकारको कार्यशैलीमाथि तीव्र आलोचना गर्दै सरकारले गरेका प्रतिबद्धता र वास्तविक कार्यसम्पादनबीच ठूलो अन्तर रहेको बताएका छन्। उनले सरकारको कामको परिणाम अपेक्षाअनुसार नदेखिएको भन्दै त्यसलाई ‘खोदा पहाड, निक्ला चुहा’ उखानसँग तुलना गरे।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले सरकारले जनतालाई आधारभूत सेवा–सुविधा उपलब्ध गराउनसमेत असफल भएको आरोप लगाए। राहदानी, सवारी चालक अनुमतिपत्र, मालपोत सेवा, खाना पकाउने ग्यासको आपूर्ति, बढ्दो महँगी तथा स्वास्थ्य बिमाजस्ता अत्यावश्यक क्षेत्रमा नागरिकले निरन्तर सास्ती भोगिरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै उनले सरकारले संसदप्रति जवाफदेही हुनुपर्ने धारणा राखे। प्रधानमन्त्रीले नेपालको भूमि भारतले मिचेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यस विषयमा संसदमा स्पष्ट धारणा राख्नुपर्ने उनले बताए।
सांसद स्वाँरले लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूमि भारतले अतिक्रमण गरेको विषयमा सरकारले प्रभावकारी पहल गर्न नसकेको आरोप लगाए। साथै, चुच्चे नक्साको कार्यान्वयनमा पनि सरकार गम्भीर नदेखिएको भन्दै उनले प्रश्न उठाए।
भ्रष्टाचार नियन्त्रणका लागि सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै उनले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। विभिन्न समयमा गठन भएका छानबिन समितिका प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही अघि बढाउन पनि उनले सरकारसँग आग्रह गरे।
प्रधानमन्त्रीसँग भेटका लागि गत चैत २१ गते लिखित निवेदन दिएको भए पनि अहिलेसम्म समय नपाएको गुनासो गर्दै स्वाँरले सुदूरपश्चिमका विकास निर्माणका समस्या राख्ने अवसरसमेत नपाएको बताए। उनले यसलाई सुदूरपश्चिम र अछामका जनताप्रतिको बेवास्ता भएको टिप्पणी गरे।
लामो समय सामाजिक तथा सार्वजनिक क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै सांसद स्वाँरले सरकारले जनअपेक्षाअनुसार परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै वर्तमान सरकारको कार्यशैली ‘खोदा पहाड, निक्ला चुहा’ जस्तै भएको टिप्पणी गरे।
तपाईको बिचार