साझा यातायात सहकारी संस्था लिमिटेडको अठारौँ बार्षिक साधारणसभा सम्पन्न

525

ललितपुर । साझा यातायात सहकारी संस्था लिमिटेडको अठारौँ बार्षिक साधारणसभा ललितपुरको पुल्चोकस्थित संस्थाको सभाकक्षमा मंगलबार ( ३० असार , २०८३ ) सम्पन्न भएको छ। उक्त सहकारी संस्थाका अध्यक्ष सुशिल राज प्याकुरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल, सहकारीका शेयर सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।

सभामा संस्थाका अध्यक्ष सुशीलराज प्याकुरेलले साझा यातायातले हाल ७१ वटा डिजेल बस तथा ४० वटा विद्युतीय बस गरी जम्मा ११ वटा बसहरूले यात्रुलाई गुणस्तरीय र भरपर्दो सेवा दिइरहेको जानकारी दिएका थिए। अध्यक्ष प्याकुरेलले आगामी दिनहरूमा ठूला विद्युतीय बसहरु मार्फत शहरी बस सेवा सञ्चालन गर्ने तथा काठमाडौँ उपत्यकासँग जोड्ने गरी विभिन्न प्रदेशहरूका राजधानीहरूसम्म स्तरीय बस सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको बताएका छन्। उनले भविष्यमा सार्वजनिक यातायात सेवालाई नगदरहित बनाउन संस्थाले i- टिकेटिङ प्रणाली विकास गरी क्रमिकरूपमा लागू गर्ने बताएका छन्।

अध्यक्ष प्याकुरेलले सार्वजनिक यातायात सेवाको सुरक्षालाई मध्यनजर गरी हरेक बसमा ड्यास क्यामेरा सहितको सिसिटिभी प्रणाली व्यवस्था गरिएको र त्यसलाई वास्तविक समयमा निगरानी गर्नको लागि संस्थामा अत्याधुनिक नियमन कक्ष स्थापना गरिएको जानकारी यसबाट यात्रुहरूको सुरक्षा तथा संस्थाको बस सञ्चालन एवं निगरानीमा थप सुधार हुने उनले विश्वास जनाए।

साधारण सभाको समुद्घाटन सत्रको प्रमुख अतिथि समेत रहेकी काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले साझा सहकारीले वित्तीय सुशासन र समय सापेक्ष स्तरीय बसहरुबाट सेवा दिनुपर्नेमा जोड दिइन्। साझा यातायातले हाल सञ्चालनमा ल्याएको उपत्यकाभित्र रात्री बस सेवाले विशेषगरी श्रमिक वर्गलाई सहज बनाएको उनले बताइन्। उनले संस्थाले साधारण सभा समयमै सम्पन्न गर्नुपर्ने सुझाव दिँदै साझा यातायातको हरिया बसहरु सबैको साझा र अत्याधुनिक सुविधायुक्त हुनुपर्ने बताइन्।

उक्त साधारण सभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरू छलफल र सुझाव सहित पारित गरेको छ। यस आर्थिक वर्षमा संस्थाको सेयर पूँजी रु. ३,५३,८३,४६,५००/- ( तीन अर्ब ५३ करोड ८३ लाख) रहेको छ।

तपाईको बिचार

सम्बन्धित खबर