काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा उपभोक्ताले त्यसको लाभ नपाएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गर्दै करिब ३० प्रतिशतभन्दा बढी गिरावट आइसकेको अवस्थामा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन खरिद गर्न बाध्य हुनु दुःखद भएको बताउनुभयो।
उहाँले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकले पाउनुपर्ने भए पनि नेपालमा त्यसो हुन नसकेको टिप्पणी गर्नुभयो। आयल निगमले “कच्चा तेल नभई प्रशोधित तेल खरिद गर्ने भएकाले मूल्य तुरुन्तै नघट्ने” तर्क प्रस्तुत गर्ने गरेको उल्लेख गर्दै पौडेलले कच्चा र प्रशोधित तेलबीच केही समय तथा प्रशोधन खर्चको अन्तर भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागतसमेत घट्ने स्पष्ट पार्नुभयो।
महामन्त्री पौडेलले यति लामो समयसम्म मूल्य घट्दाको वास्तविक सूचना सार्वजनिक नगरी पुरानै प्राविधिक कारण देखाएर मूल्य नघटाइनु उपभोक्तामाथिको अन्याय भएको बताउनुभयो। उहाँले यस अवस्थाले सरकार तथा नेपाल आयल निगमभित्र सुशासन, पारदर्शिता र प्रभावकारी व्यवस्थापनको अभाव उजागर गरेको आरोप लगाउनुभयो।
उहाँले पेट्रोलियम पदार्थमा लागू गरिएको स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक १५र१५ दिनमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा मूल्य बढाउने र घटाउने दुवै प्रक्रिया समान रूपमा लागू हुनुपर्ने धारणा राख्नुभयो। “भाउ बढ्दा तत्काल लागू हुने तर घट्दा लागू नहुने अवस्था स्वीकार्य हुन सक्दैन,” उहाँले भन्नुभयो।
पौडेलले घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा राहत नपाउने अवस्था अन्यायपूर्ण भएको उल्लेख गर्दै इन्धन मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको माग गर्नुभएको छ।
तपाईको बिचार