नर्थ समिट हाइड्रो लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न

527

काठमाडौं । लमजुङ जिल्लामा २१.४ मेगावाट क्षमताको न्यादी–फिदी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको नर्थ समिट हाइड्रो लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विवेक टाटेरको सभापतित्वमा यही जेठ १७ गते आईतबार सम्पन्न उक्त साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

सभामा कम्पनीका प्रबन्ध निर्देशक बलिन्द्र क्षेत्रीले कम्पनीले लमजुङ जिल्लामा निर्माण गर्दैै रहेको २१.४ मेगावाट क्षमताको न्यादी–फिदी जलविद्युत् आयोजनाको निर्माण प्रगतिबारे पनि विस्तृत जानकारी प्रस्तुत गर्दै आयोजनाको निर्माण कार्य निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको र गुणस्तरीय निर्माणलाई प्राथमिकतामा राखिएको बताए।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखापरीक्षक नियुक्ति, सेयर संरचनामा आवश्यक परिवर्तन, लगानीसम्बन्धी निर्णय, बैंक तथा वित्तीय संस्थासँग भएका सम्झौतामा संशोधन तथा सेयरधनी अभिलेख अद्यावधिकलगायतका प्रस्तावहरू पारित गरेको जनाएको छ।साधारणसभामा सहभागी सेयरधनीहरूले कम्पनीको भावी लगानी रणनीति, सुशासनको अभ्यास तथा नेपालको जलविद्युत् र स्वच्छ ऊर्जा क्षेत्रलाई थप सुदृढ बनाउने विषयमा समेत आफ्नो धारणा राखेका थिए।

यस कम्पनीले ४ मेगावाट क्षमताको मिडिल न्यादी जलविद्युत् आयोजनामा सेयर लगानी गर्ने योजना पनि अघि सारेको जानकारी दिएको छ। साथै न्यादी–फिदी आयोजनालाई क्यास्केड अवधारणाअनुसार विकास गर्ने विषयमा समेत साधारणसभामा छलफल भएको थियो।

गण्डकी प्रदेशको लमजुङमा निर्माणाधीन न्यादी–फिदी जलविद्युत् आयोजना रन–अफ–रिभर प्रविधिमा आधारित आयोजना हो। आयोजनाले विद्युत् उत्पादन अनुमति, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) तथा राष्ट्रिय प्रसारण लाइनमा जडानका लागि आवश्यक स्वीकृतिहरू प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।

हाल आयोजनाअन्तर्गत इन्टेक संरचना निर्माण, डिस्यान्डर निर्माण, हेडरेस टनेल खन्ने कार्य, पेनस्टक पाइप जडान तथा हाइड्रोमेकानिकल संरचनाहरूको निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। कम्पनीका अनुसार आयोजनाबाट वार्षिक करिब १२९.१४ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर